भ्रमण वर्ष २०२०ःबाँके निकुञ्जमा हात्ती सफारी


भ्रमण वर्ष २०२०ःबाँके निकुञ्जमा हात्ती सफारी

नेपालगन्ज: नेपाल भ्रमण बर्ष २०२० सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी शुरू भएको छ । प्रस्ताति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निकुञ्जमा विधिवत रूपमा हात्ती सफारीको बुधबार उद्घाटन गरेका छन् । निकुञ्जको हात्तीसार रहेको खड्कबारबाट हात्ती सफारी शुरुवात गरिएको छ ।

भ्रमण वर्ष सफल पार्नका लागि आन्तरिक पर्यटनहरुको उपस्थितिलाई बढाउनुपर्नेमा मुख्यमन्त्री शंकर पोखरेलले जोड दिए । मुख्यमन्त्री पोखरेलले यो नेपाल सरकारको मात्र लक्ष्य नभइ सबै नागरिक र सरोकारवाला निकायको पनि महत्वपूर्ण काम समेत भएको बताए ।

बाघ संरक्षणका लागि महत्वपूर्ण मानिएको बाँके निकुञ्ज नेपालकै सबैभन्दा कान्छो निकुञ्ज हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् २०१३ मा पाँचवटा रहेको बाघको संख्या सन् २०१९ मा २१ भन्दा बढिरहेको बताए । उनकाअनुसार यहाँ बाघको सख्या बढेकै कारण पनि पर्यटकका लागि बाँके निकुञ्ज आकर्षणको केन्द्र बन्दै गएको छ ।

बाँके निकुञ्ज ‘ट्रान्जिट प्वाइन्ट’
नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भएर मुलुका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्यांकले जनाएको छ ।

जसमा १४८ जना आन्तरिक पर्यटक छन् । ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्ज घोषणा भएको ८ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ । नेपाल भ्रमण बर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनौट गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको प्रमूख संरक्षण अधिकृत भट्टराईले बताए । ‘बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ,’ भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।’

पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत व्यवस्था मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरी बताउँछन् ।

‘यहाँ ससाना चुरे श्रृंखलाहरु छन,’ उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’ आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् ।