नेपालगन्ज: कोहलपुरका पत्रकार संगीन शर्मामाथि कुटपीटको आदेश दिने नेकपा प्रदेश पाँचका सदस्य पुजन विश्वकर्माले सार्वजनिक स्थलमा माफी मागेका छन् । पर्यटन भ्रमण वर्ष २०२० को उद्घाटन बर्दियाको ठाकुरद्वारामा भइरहँदा उक्त कार्यक्रममा सहभागी भएका नेता विश्वकर्माले दर्जनबढी पत्रकारहरूको माझमा बुधबार आफूले गल्ती गरेको भन्दै एक पटकलाई माफी दिन आग्रह गरेको पीडित पत्रकार संगीन शर्माले सेतोखरीलाई बिहीबार विहान बताएका छन् ।
ठाकुरद्वारामा उपस्थित भएका प्रदेश पाँचका आधाबढी पत्रकार राजनीतिक दलका नेता कार्यकर्ता लगायतको माझमा सार्वजनिक ठाउँमै माफी मागेको कारण आफूले पनि एक पटकलाई विश्वकर्माको आग्रहलाई मानेर विवाद समाधानका लागि सहमति जनाएको शर्मा बताउँछन् । शर्माले भने ‘विश्वकर्माले प्रेस संगठन तथा पत्रकार महासंघका केन्द्रिय नेतृत्व सामु माफी मागेका हुन ।’
बर्दियाको ठाकुरद्वारामा चलिरहेको पत्रकार महासंघ ५ नम्बर प्रदेश समितिको प्रथम साधारणसभाका दौरान विश्वकर्माले पत्रकार शर्मामाथी भएको आक्रमणको नैतिक जिम्मेवारी लिएका हुन ।
प्रेस संगठन नेपालका केन्द्रिय सहसंयोजक गणेश बस्नेत, प्रेस संगठन ५ नम्बर प्रदेश ईन्चार्ज मनोज घर्ती मगर तथा प्रेस संगठनका केन्द्रिय सदस्य लगाएतको उपस्थितीमा विश्वकर्माले माफी मागेको पीडित पत्रकार शर्माले बताए । विश्वकर्माले आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने र समग्र कोहलपुर क्षेत्रका पत्रकारहरुको सुरक्षामा संवेदनशील रहने प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य समेत रहेका काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक संगिन शर्मामाथि नेकपाका नेता विश्कर्माको निर्देशनमा करिब दुई साताअघि कोहलपुरमा सांघातिक आक्रमण भएको थियो । आफू निकटका नेकपा कार्यकर्ता बोलाई नेता विश्कर्माले पत्रकार शर्मामाथि कुटपिट गर्न निर्देशन दिएका थिए । पत्रकार शर्माको निधार, टाउको लगायतमा चोट लागेको थियो । यस अघि घाइते पत्रकार शर्माले नेकपा नेता पुजनकै निर्देशनमा भाडाका गुण्डाले आफुमाथि आक्रमण सञ्चारमाध्यमलाई बताएका थिए । पीडित शर्माले दोषीमाथि कानूनी कारवाहीका लागि किटानी जाहेर कोहलपुर प्रहरीमा दिएपनि प्रहरीले विश्वकर्माका विरूद्ध उक्त उजुरी दर्ता गरेको थिएन् । तर, कुटपीटमा संलग्न अन्य दुई जनालाई भने उजुरी दर्तापछि पक्राउ गरेको थियो ।
कुटपीटमा संलग्न रहेका आरोप लागेका नेता विश्वकर्मालाई घटनाबारे बुझ्न सम्पर्क गर्दा उनीसँग तत्कालिन अवस्थामा हुन सकेको थिएन् । यसैबीच घटना लगत्तै क्रियाशिल पत्रकार समुहले प्रेस विज्ञप्ती निकाल्दै घटनाको घोर भत्र्सना गरेको थियो । क्रियाशिल पत्रकार समुहका सचिव रामबहादुर रावतद्वारा जारी विज्ञप्तीमा पत्रकार शर्मामाथि आक्रमण गर्ने नेकपाका नेता पुजन विश्वकर्मालगायतलाई कानूनी कारबाहीको माग गरिएको थियो ।
यद्यपी नेपाल पत्रकार महासँघ बाँकेले उक्त घटनाको छानबनिका लागि एक छानबीन टोली समेत गठन गरेको थियो । तर, विश्व्कर्माले माफी मागिसकेको चर्चा चलिरहँदासम्म पनि महासँघले आफ्नो प्रतिवेदन गुपचुपमै राखेको महासंघकै एक सदस्य बताउँछन् । क्रियाशिल पत्रकार समुहका उपाध्यक्ष समेत रहेका पत्रकार शर्मामाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको थियो ।