काञ्जिहाउस: उपचार शुरू, आहारा अभावै


काञ्जिहाउस: उपचार शुरू, आहारा अभावै

उचित आहारा र उपचारको अभावमा मरणासन्न कान्जि हाउसका पशुचौपाया । तस्विरः रवि कनोजिया/सेतोखरी

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले स्वस्थ्यकर्मीसहितको एक टोली शुक्रबार दिउँसो बाँकेको पुरैनास्थित काञ्जि हाउसमा पठाएको छ ।
सेतोखरी अनलाइनले काञ्जि हाउसमा रहेका ‘गाईगोरू मरणासन्न अवस्थामा र विरामी’ भनेर समाचार सार्वजनिक गरेपछि उपमहानगरपालिकाले उक्त टोली पठाएको हो । उक्त टोलीले शुक्रबारदेखि ती चौपायको उपचार शुरू गरेको छ ।

शुक्रबार दिउँसो काञ्जि हाउस पुगेको स्वास्थ्यकर्मीसहितको टोलीले यहाँ रहेका पशुचौपायको प्राथमिक उपचार गरेको छ । उपमहानगरपालिकाको पशु सेवा इकाई र पशु सेवा कार्यालयका स्वास्थ्यकर्मीले विरामी पशुचौपायको उपचार गरेको काञ्जि हाउसका इन्चार्ज राकेश भारती बताउँछन् । काञ्जीहाउसमा दर्जनबढी गाईगोरू विरामी परेका छन् । यी गाईगोरूलाई चिसोले निमोनिया भएको चिकित्सकहरू बताउँछन् ।

काञ्जि हाउसको पर्खालभित्र राखिएका ५३ वटा पशु चौपायामध्ये एक दर्जनबढी गाईगोरू विरामी अवस्थामा छन् । चिसो मौसम बढेसँगै विरामी परेका पशुचौपायाको प्राथमिक उपचार गरेपनि उनीहरूका लागि उचित आहारा व्यवस्थापनका लागि शुक्रबार उपमहानगर र काञ्जि हाउसमा पुगेको उक्त टोलीले केही चासो नदेखाएको काञ्जि हाउस कर्मचारी बताउँछन् ।

यहाँका गाईगोरू विविध रोगको संक्रमणबाट ग्रसित छन् । काञ्जिहाउसमा बिहीबार मात्रै करिब एक दर्जन गाईगोरू विरामी भएको काञ्जि हाउसका इन्चार्ज राकेश भारती बताउँछन् । जसमा सातवटा गाईगोरू मरणासन्न अवस्थामा थिए ।

काञ्जि हाउसमा रहेका गाईगोरू यसरी विरामी पर्दा समेत सम्बन्धित निकाय नेपालगन्ज उपमहानगरपालिका, पशु सेवा कार्यालय ती पशु चौपायाको उचित उपचार तथा आहाराको व्यवस्थापनमा उदासिन देखिएका छन् ।

गाईगोरू र एउटा घोडाका लागि उचित आहाराको अभाव छ, काञ्जिहाउसका इन्चार्ज भारतीले भने ‘भुस र थोरै घाँसका भरमा राखिएको छ । यहाँ सबै चौपायाका लागि आवश्यकताअनुसारको पानी समेत छैन् ।’

विगतमा काञ्जि हाउसमा रहेका गाईगोरूलाई आहारा दिनका लागि नेपालगन्ज ग्यालरी लगायतका विभिन्न अभियान्ताले घाँस, पानी, भुस लगायतका आहाराको व्यवस्थापन गरेपनि अहिले ती अभियान्ता समेत यहाँका पशुचौपायाको उचित व्यवस्थापन र आहाराका लागि उदासिन देखिएका छन् ।