५७२ महिला कहाँ र कहिले भेटिन्छन् ?


५७२ महिला कहाँ र कहिले भेटिन्छन् ?

File Photo

नेपालगन्ज: बैदेशिक रोजगारीका बाँकेको नेपालगन्ज लगायतका विभिन्न नाकाबाट दैनिक सयौं महिला तथा बालबालिका बिदेशीएका छन् । यसरी बिदेशीएकामध्ये कतिपय केही वर्षको बैदेशिक रोजगारीपछि घर फर्केका छन । तर, कतिनपय महिला तथा बालबालिका अहिलेपनि वेपत्ताकै सूचीमा देखिएका छन् ।

महिला तथा बालबालिकाको नाममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकदेखि काम गर्दै आएको बेमौसमी प्रतिबेदन सार्वजनिक गर्दै आएका छन् । उनीहरूले बेचबिखनमा पर्नसक्ने र परेका महिलाहरूको उद्दारका लागि विभिन्न कामहरू गर्दै आएको दाबी गर्दै आएका छन् । तर, पछिल्लो पाँच वर्षकै तथ्यांक मात्रै हेर्ने हो भने बेचबिखनमा परेका महिलाहरूको उजुरी प्रहरीसम्म वर्सेनी आउने गरेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको माईती नेपाल नै बताउँछ ।
प्रहरीका अनुसार केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका थिए । तर, अहिले शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । बाँकेको नेपालगन्ज नाकाबाट बाहिरिएका ५ सय ७२ जना महिलाको अवस्था अहिले पनि अज्ञात छ । सन् २०१९ मा यो नाकाबाट ८ सय ६९ जना महिला जोखिमपूर्ण यात्रामा रहेका थिए । जसमा नाकामा अड्डा जमाएर बसेका सरकारी तथा गैरसरकारी निकायले २ सय ९७ जनामात्रै फेला परेको तथ्याकं सार्वजनिक गरेका छन् ।

आठ सय ६९ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए । ती मध्येमा २९७ जना फेला परे । बाँकीको अवस्था पत्ता लाग्न सकेको छैन । कहाँ छन् ती महिला बालबालिका र अहिले फेला पर्छन् । यसको खोजी गर्ने निकायको यतिबेला प्रश्न उठ्न थालेको छ ।

नाकामा भेटिएका र अरुले सुराक गरिदिएका आधारमा आफूले उद्दार गरेको संख्यात्मक उपलब्धी देखाउँने उघारबादी निकायहरूको ध्यान अब यतातिर जान जरूरी देखिएको छ । अहिलेसम्म वेपत्ता भइरहेका ती ५७२ महिला तथा बालबालिकाको खोजी होस् । उमेर समूहका अनुसार १८ वर्षभन्दा मुनिका ३ सय ३९ जना छन् ।

खासगरी नेपाली चेलीहरूसँग पाका उमेरका चिनियाँ र कोरियाली पुरूषले विवाह गरेर लैजाने र धेरैजसोमा महिलाहरू पीडामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपालगन्ज लगायतका नाकाबाट विवाह गरेर लगे पनि ती महिलाहरूलाई पछि घरमै बन्दी जस्तो बनाएर यातना दिने गरेको समेत फेला परेको माईती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्का बताउँछन् । बेचबिखनमा पर्ने महिला भारतबाहेक एशियाका मलेसिया, इण्डोनेसिया, अफ्रिकाका केन्या, युगाण्डा अनि कतिपय मध्यपूर्वका देशमा र त्यस्तै ल्याटिन अमेरिकाको ब्रजिलमा पनि पुगेको प्रहरीको भनाइ छ ।

विकसित देशमै स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको एक अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क डरलाग्दो रहेको माईती नेपालका नेपालगन्ज संयोजक केशव कोइराला बताउँछन् । वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा १५ हजार महिला र पाँच हजार बालबालिका यौनशोषण सहितको बेचबिखनमा परेका छन । आन्तरिक बेचबिखनको अवस्था जटिल बनेकोे आयोगका प्रवक्ता मोहना अन्सारी बताउँछिन् ।

आयोगको प्रतिवेदन अनुसार मनोरञ्जन क्षेत्रका सात हजार आठ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका तथा फेला नपरेका तीन हजार दुई सय गरी ३५ हजार व्यक्ति यौन व्यवसाय जन्य बेचबिखनमा पर्ने गरेका छन । जसमा १९ वर्ष समूहका किशोरी १२ लाख, मनोरञ्जन क्षेत्रबाट २१ हजार, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका एक लाख ८० हजार तथा एक लाख बालश्रमिक यौन शोषण र बेचबिखनको जोखिममा छन ।