नेपालगन्ज : नेपालमा हुने अधिकांश चुनावमा दुई पार्टीबीच मतदान भई एकले जित्ने र अर्कोले हार्ने परम्परा चलि आएकोछ । यसमा नेपाल उद्योग बाणिज्य संघ पनि अछुतो छैन् । उम्मेदवारको नामावली सार्वजनिक गरिएसंग बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ ।
उम्मेदवारको नामावली सार्वजनिक भएसंगै उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई तीब्रता दिएका छन् । चुनाव प्रचार प्रसारलाई तीब्र बनाएका अध्यक्ष पदका उम्मेदवारहरू अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ र ललित रौनियार अ–आफ्नो प्यानल विजयी हुने दाबी गर्दै आएका छन् ।
तीन हजारबढी मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते निर्वाचन हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने यो निर्वाचनका लागि नेकपा एकल चुनावी मैदानमा छ । तर, काँग्रेससँग राप्रपाको तालमेल भएको छ ।
अध्यक्ष पदका उम्मेदवार चुन्नाले आफ्नो प्यानलको जित सुनिश्चित भएको दाबी गरेका छन् । धेरै पुर्व अध्यक्षहरुको सर्मथन आफुलाई भएको बताउदै उनले व्यावसायीको सर्मथन राम्रो पाएको बताए ।
चुन्नाका प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ, उद्योग तर्फका उपाध्यक्ष आदेश अग्रवालको उम्मेदवारी रहनेछ । सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेको छ । बस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजंग राणा ‘सिद्धु’को उम्मेदवारी रहने छ ।
यता अध्यक्ष पदका अर्का आकांक्षी ललित रौनियारको प्यानलको उपाध्यक्ष (उद्योग) तर्फ तपेन्द्र बिक्रम शाह, वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहेका छन् । यस प्यानलमा प्रदेशसभाका सदस्य मोहमद याकुव अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य अच्यूत प्रसाई,संघका पूर्व अध्यक्ष सुनिल शर्मा लगायतको समर्थन देखिएको छ ।
२०२४ सालमा सीमित अगुवा व्यापारीको ‘बैठकी’बाट शुरू भएकोसंघ स्थापनाको ५१ वर्ष पुरा भएको छ । यो पाँच दशकको यात्रामा १० जनाले विभिन्न कालखण्डमा संघको कमाण्ड सम्हालेका छन् । स्वर्गीय ओमकार मल खेतानको अध्यक्षतामा २०२४ सालमा वैधानिक ढंगले औपचारिकता पाएको संघको पूर्वाधार ‘बैठकी’ भने २०१२ साल देखि नै हँुदै आएको जानकार बताउँछन् । संघको अभिलेख अनुसार, खेतानले २०३८ सालसम्म संघको नेतृत्व सम्हालेपछि केदारनाथ टण्डनको काँधमा जिम्मेवारी थपिएको थियो । टण्डनको २०४३ सालमा निधन भएपछि तत्कालीन उपाध्यक्ष गौरीशंकर मोहपालले नेतृत्व सम्हालेका थिए ।
२०५३ पौषमा अच्यूत प्रसाईको नेतृत्वमा दामोदर प्रसाद गुप्ता र सुनिल कुमार शर्मा उपाध्यक्ष, सतिश चन्द्र अग्रवाल सचिव, श्याम कुमार शर्मा सहसचिव र उमा शंकर केशरवाल कोषाध्यक्ष लगायतको कार्य समिति निर्माण भएको इतिहासले देखाउँछ ।
प्रसाईको नेतृत्वसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ अध्याय सुरु भएको देखिन्छ । प्रसाईले आफ्नो दुई कार्यकालमा सचिवको जिम्मेवारी निभाएका सतिशचन्द्र अग्रवाललाई २०५९ मा नेतृत्व हस्तान्तरण गरेका थिए ।
अग्रवालले आफ्नो कार्यसमितिका सदस्य दामोदर आचार्यलाई २०६३ भदौमा पदभार हस्तान्तरण गरेका थिए । आचार्यले तत्कालीन उपाध्यक्ष सुनिलकुमार शर्मालाई पराजित गरी २०६६ सालसम्मका लागि संघको नेतृत्व लिएका थिए । आचार्यसँग कन्हैयालाल वैद्य प्रथम र कृष्णप्रसाद श्रेष्ठ द्वितीय उपाध्यक्षका रुपमा रहेका थिए ।
संघको अभिलेखमा १३ औं कार्यकालको नेतृत्वमा वर्तमान अध्यक्ष नन्दलाल बैश्य पुगेका छन् । संघको नयाँ भूमिका परिस्थितिको सामाना गर्न बैश्यले दशौं कमाण्डरका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । यसै अवस्थामा माघ ११ गते संघको ५१ औं सभा हुँदैछ । विगत र अहिलेमा निर्वाचनको माहोल फरक छ । विगतमा तीन धार भएका प्रत्यासी अहिले दुई धारमा छन् ।
प्रतिस्पर्धात्मक निर्वाचन प्रणालीमा मत परिणाम नै आधिकारीक मानिन्छ । अहिले नै यो र त्यो भन्नु भन्दा पनि प्रत्यासीको लोकप्रियताका आधारमा केही बिश्लेषण गर्न सकिन्छ । अहिलेको निर्वाचन र देखिएका उम्मेदवारलाई हेर्दा दुबै प्यानलका उम्मेदवार व्यवसायीक हकहितमा लागि परेका व्यक्तिहरू नै छन् । तर, निर्वाचनमा खस्ने मतलाई भुलेर एकछिन व्यक्तिगत लोकप्रियतालाई निहाल्दा संघको सर्वोपरी पद अध्यक्षमा साझा प्रजातान्त्रीक उद्योगी व्यवसायी समुहलाई संघर्ष धेरै गर्नुपनैैैै देखिएको छ । यद्दपी परिणाम निर्वाचन पछि नै आउने हो । यो सामान्य बिश्लेषण मात्र गरिएको हो । दवै समूहको उम्मेदवारी घोषणामा गतिलै तामझाम देखिएको थियो । तर, यो तामझाम र सहभागीता निर्वाचनको समयमा कसरी प्रस्तुत हुन्छ यो महत्वपूर्ण पक्ष हो ।
मतदानबाट प्राप्त मत परिणामले घोषणाको तामझामलाई मुल्याङकन गर्ने छ । यसका लागि माघ ११ कुर्नै पर्छ । पश्चिम नेपालको पुरानो शहर नेपालगन्जको व्यावसायिक हित र नागरिक अगुवा संगठनको रूपमा हेरिएको नेपालगन्ज उद्योग बाणिज्य संघले प्रस्तावित लम्बिनी प्रदेशको मात्र नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत विकासको आधार बनाउने निश्चित छ । यसले पनि माघ ११ मा हुने संघको यो निर्वाचनलाई विशेष महत्वका साथ निहाल्न आबश्यक देखिएको छ ।