नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा रहेका अधिकांश सरकारी तथा नीजि भौतिक संरचना नक्शापासविहीन छन् । उपमहनागरपालिकाको फितलो भवन निर्माण आचारसंहिता लागू र सरकारी कार्यालय तथा व्यक्तिको लापरवाहीका कारण अधिकांश भवन नक्शापासविहीन भएका हुन् । तर उपमहानगरसँग यसको यकिन विरण छैन् ।
घर बनाएर नक्सापास नगरेकालाई पुस मसान्तसम्मको समय सिमा तोकेको छ । समय सीमा भित्र नक्शा पास नगराउनेलाई दोब्बर दस्तुर जरिवाना लाग्ने छ । उपमहानगरले नगरसभाबाटै नक्शा पासको मौका दिने प्रस्ताव पारित गरेको थियो ।
समय सीमा भित्र नक्सापास नगरे अनुमगन गरी कारवाही गरिने नक्सापास फाँटका नायव सुब्बा सतिश कलवार बताउँछन् । नेपालगन्जमा कति घर नक्शापास बिना बनेका छन् भन्ने यकिन छैन । उपमहानगरका सूचिकृत इन्जिनियरिङ परामर्शदाता सुरेन्द्र बोहराका अनुसार, तीस प्रतिशत घरको नक्सा पास छैन् ।
त्यसरी नक्सापास नगर्नेलाई यसपटक मौका दिन लागिएको हो । नक्शापास नगर्दा बैंकको ऋण लिन र बैदेशिक शिक्षाका लागि जाने क्रममा सम्पत्तिको मुल्यांकन गर्ने जस्ता काममा समस्या पर्ने गरेको छ ।
अहिले सटर भएका घरको नक्सापास गर्दा प्रति बर्गफिट १४ रुपैया लाग्छ । त्यस्तै अवासिय घरका लागि प्रति बर्गफिट १२ रूपैया पर्ने उपमहानगर बताउँछ । चारवटा कोठा भएको घरको नक्सापास गर्दा कम्तिमा १५ हजार रुपैया लाग्छ । पुष मसान्तसम्म नक्शा पास गर्दा त्यसको दोब्बर ३० हजार लाग्न सक्ने उपमहानगरपालिका बताउँछ ।