बजेट अभाव: ३ करोडको भवन निर्माण अलपत्र


बजेट अभाव: ३ करोडको भवन निर्माण अलपत्र

निर्माणाधिन कोहलपुर उद्योग बाणिज्य संघको भवन । तस्विर: विजय मल्ल/सेतोखरी

कोहलपुर : बाँकेको कोहलपुर उद्योग बाणिज्य संघले गर्न लागेको अत्याधुनिक भवन निर्माणको काम चार महिनादेखि ठप्प भएको छ । अहिले निर्माणको काम हुन नसक्दा यसका लागि ढुवानी गरिएका निर्माण सामग्री संघको खाली मैदानमा यत्रतत्र छन् ।

संघले यसअघि लगाएको मेला, महोत्सवबाट संकलित रकमले उक्त भवन निर्माणको थालनी भएको थियो । तर, अहिले रकम अभाव हुँदा उक्त संरचना निर्माणको काम अलपत्र परेको देखिएको छ । अहिले रकमकै अभावमा निर्माणको काम अघि बढ्न नसकेको संघका अध्यक्ष चक्रबहादुर अधिकारी बताउँछन् ।

संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना अघि बढाएका हो । वस्तुगत संघहरूलाई समेत स्थान उपलब्ध गराउने सभाकक्ष सहितको भवन निर्माणका लागि संघले गत वर्षको असोज मसान्तमा शीलान्यास गरेको थियो ।

तीन करोड ६२ लाखमा निर्माण गर्ने भनिएको उक्त भवनको अहिले डिपिसी मात्र गरिएको छ । साढे तीन तला निर्माण हुने भवन आर्थिक अभावकै कारण डिपिसी भन्दा माथि उठ्न नसकेको भवन निर्माण समितिका संयोजक नमप्रसाद शर्मा बताउँछन् ।

उनकाअुसार अहिले सम्म ५५ लाख बजेट खर्च भएको छ । संघले २०७४ सालमा लगाएको महोत्सवबाट संकलित ६३ लाखमध्येबाट भवन निर्माणका लागि डिपिसी तयार गर्दासम्म ५५ लाख खर्च भएको हो ।

भौतिक संरचना निर्माणका लागि रकम संकलनको उक मात्र माध्यम मेला, महोत्सव भएको र अहिले संघले मेला महोत्सवको आयोजना नगरेको कारण पनि निर्माणमा आर्थिक अभाव देखिएको हो ।

तीन वर्षमा निर्माण पुरा गरिसक्नुपर्ने उक्त भवन निर्माणपछि यहाँका उद्योगी व्यवसायीलाई मात्रै नभई सरकारी तथा गैरसरकारी निकायलाई समेत विविध कार्यक्रम, सेमिनार, गोष्ठि, बैठक तथा सभा गर्न समेत सहज हुने भएको छ ।

उक्त बहुउद्देश्यीय भवन लिफ्टसहितको सुविधा सम्पन्न हुने संघका अध्यक्ष अधिकारी बताउँछन् । उनकाअनुसार कोहलपुरमा एउटा भरपर्दो र उपयुक्त सभा हल नभएकोले संघको भवन निर्माण पछि अत्याधुनिक र सम्पन्न सभाहल समेत यहि हुनेछ ।

महोत्सवको पक्षमा छैनौं: उवासंघ

नेपाल घरेलु महासंघ कोहलपुर समितिले बिहीबारदेखि कोहलपुरमा सञ्चालन गर्न लागेको महोत्सवमा आफ्नो कुनै संलग्नता नरहेको कोहलपुर उद्योग वाणिज्य संघले बताएको छ ।

महोत्सवको पुर्वसन्ध्यामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर संघले यस्तो बताएको हो । संघले बिहीबारदेखि सञ्चालन हुने मेला घरेलु मेला महोत्सको उद्देश्य तथा नीति विपरित भएको दाबी पनि गरेको छ ।

‘तेस्रो औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव २०७६’ मा संस्थागत रूपमा संघको कुनै संलग्नता नभएको संघका अध्यक्ष चक्रबहादुर अधिकारी बताउँछन् ।

घरेलु महासंघले सिद्धान्त विपरीत ठेक्का प्रणालीमा महोत्सव संचालन गर्न लागेका वाणिज्य संघको आरोप छ । कोहलपुरले एउटा महोत्सव मात्र थेग्न सक्ने भएकाले यस वर्ष वाणिज्य संघले महोत्सव नलगाउने निर्णय गरेको छ ।

स्थानीय निकायले आफुखुसी महोत्सव संचालनका लागि सबैलाई अनुमति दिदा कोहलपुरका व्यापारीहरू मर्कामा परेको अधिकारीको भनाई छ । यहाँका मेयर लुटबहादुर रावतले कोहलपुरको अवस्थालाई ध्यान नदिएर मनोमानी रूपमा मेला महोत्सव लगाउँन जोकोहीलाई पनि अनुमित दिने गरेका छन् । मेयर रावतकै मनोमानीले यहाँका व्यवसायी र महोत्सव आयोजक बिच मनमुटावको अवस्था सिर्जना भएको छ ।

बिहिबारदेखि सञ्चालन हुने महोत्सवमा सहभागी नहुँन संघले यस क्षेत्रका आम व्यवसायीलाई आग्रह समेत गरेको छ । वस्तुगत संघसंस्थाले पनि महोत्सवमा सहभागी नहुन ऐक्यवद्धता जनाएको संघका महासचिव तेजप्रसाद अधिकारी बताउँछन् ।

महासचिव अधिकारीले सिमित व्यक्तिको फाईदाका लागी लगाइएका महोत्सवले कोहलपुर क्षेत्रको व्यापार ब्यवसाय धरासायी हुदै गएको जिकिर गरेका छन् । घरेलुको महोत्सव लगाउँने पद्धती ठिक नभएको उनले बताएका छन् ।

यसैबिच बिहीबार माघ पाँच गतेसम्म नेपाल घरेलु महासंघ कोहलपुर समितिले महोत्सव संचालन गर्न लागेको छ । महोत्सवको सम्पूर्ण तयारी सकिएको घरेलुले बताएको छ । उक्त महोत्सवमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आउने निश्चित भएको आयोजकले जानकारी दिएका छन् ।