महेन्द्र सापकोटा
दैलेख : प्रदेश सभाको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन भएको दुईवर्ष विति सकेको छ । निर्वाचन पछि विजयी भई कर्णाली प्रदेश सभा भवन सुर्खेत छिरिसकेपछि आफुले निर्वाचनका बेला प्रतिवद्धता विर्सिसकेका छन् ।
२०७४ मंसिर २१ मा भएको निर्वाचनका प्रदेश सभा उम्मेदवारले आफुलाई सपना देखाएर भोट लिएको नौमुले बासीले गुनासो गरेका छन् । नौमुलेमा रिङरोड ल्याईदिने आशले भोट दियौं । विजयपछि भोट दिएकै दैलेख क्षेत्र १ ख का प्रदेश सांसद अमरबहादुर थापाले नौमुलेलाई विभेद गरेको द्वारीका स्थानीयबासी शशीराम रोकाले दुखेसो पोखे । विकासका सपना पुरा हुन्छन् भन्ने आशाले नौमुले बासीले जिताए, जितेर गएपछि फर्कि हेरेनन् उनले भने ।
रोजगारीका थुप्रै अवसरहरु श्रृजना गरि यूवाहरुलाई रोजगार दिने, कृषिलाई आधुनिकीकरण गरी किसानलाई व्यवसायीकरण गर्ने, जडिबुटी तथा बेमौसमी तरकारीका लागि पकेट क्षेत्रका रुपमा विकास गर्ने देखि विकासमा सबै पुर्वाधारहरु खडा गर्ने सम्मका आश्वासन जितेर गएका माननीयले दिएर गएका थिए । अन्य पालिकामा बढि चासो दिएर नौमुलेलाई विकासका योजनामा उपेक्षा गरेको गुनासो नौमुलेबासीको छ ।
माननीय बन्न जसरी अरु पालिकाका नागरिकले भोट दिए त्यसरी नौमुले बासीले पनि भोट दिएका हुन् विकासमा किन यसरी विभेद गरियो उनीहरुको प्रश्न छ । सदरमुकाम देखि नौमुले जाने सडक खण्डको वेहाल छ, प्रदेश माननीयको दृष्टि किन पुगेको छैन, स्वास्थ्य, खानेपानी, सिचाई लगाएतका योजनाहरु प्रदेश सरकारबाट नआएको नौमुलेका नागरिकको गुनासो छ ।
द्वारी हाइडो पावर नजिकको चट्टान कटान गर्नका लागी प्रदेश सरकारबाट योजना ल्याउने आश्वासन मात्र दिए माननीयले, त्यो अहिले सम्म पुरा भएन स्थानीय तुलवहादुर घर्तीको गुनासो छ । शैक्षिक स्तर उन्नती गरेर गुणस्तरीय शिक्षा बनाउन पहल गर्ने आश्वासन सपनामै सिमित रह्यो घर्तीले भने ।
नौमुले गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गगन रोका मगरको गुनासो पनि उस्तै छ । रोकाले भने, ‘हरेक पालिकामा प्रदेश क्षेत्र विकासको रकम जान्छ तर नौमुलेमा आउँदैन, पालिकामा जुन पार्टीको सत्ता भए पनि प्रदेश क्षेत्रको भु–भागमा नौमुले पनि पर्छ त्यहाँ पनि नागरिकको बसोबास छ भन्ने कुरामा किन सांसदले हेक्का राख्दैनन् ।’
नौमुले प्रदेश क्षेत्रको बिकट पालिका हो, यहाँ त माननीयको विशेष दृष्टि पुग्नु पर्ने हो तर विशेष बजेट अन्तै जान्छ, यसरी उपेक्षा रहि रहने हो भने गाउँपालिका कै भर कति परिरहन्छन् जनता रोकाले भने । ‘हरेक चुनावमा हामीले नेताहरुलाई पटक–पटक भोट दियौँ । जितायौँ । तर, जितेर गैसकेपछि कसैले पनि फर्केर हेरेनन् ।’ स्थानीय लालबहादुर चन्दले भने । यसरी नै उपेक्षा रहिरहने हो भने नौमूलेका बासिन्दाले आगामी निर्वाचनमा नयाँ नेता खोज्नु पर्ने चन्दको तर्क छ ।
२०७४ सालमा भएको निर्वाचनका बेला दैलेख निर्वाचन क्षेत्र नं. १ ख का उम्मेदवार सांसद अमरबहादुर थापाले नौमूले गाउँपालिकामा सञ्चालन भईरहेका प्राथमिक बिद्यालयलाई निम्न माध्यामिक, निम्न माध्यामिक बिद्यालयलाई माध्यामिक र माध्यामिक बिद्यालयलाई उच्च मावि बनाउन आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । अहिलेसम्म त्यो आश्वास नत पुरा भएको छ, नत कामको सुरुवात नै भएको छ । स्थानीयले दुखेसो पोखेका छन् ।