आज अचम्मको चन्द्रग्रहण लाग्दै


आज अचम्मको चन्द्रग्रहण लाग्दै

File Photo

नेपालगन्ज: आज अचम्मको चन्द्रग्रहण लाग्नेभएकोछ । शुक्रबार राति चार घण्टाभन्दा बढी लाग्ने चन्द्रग्रहण अचम्मको हुनेछ । शुक्रबार राति १०ः५२ देखि सुरू हुने चन्द्रग्रहण १२ः ५५ बजे मध्य हुने र राति २ः५६ बजे सकिनेछ । यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हुनेछ ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएकोछ । सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ । तर, यो पेनम्ब्रल चन्द्रग्रहण हो । जुन नांगो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न । त्यसैले पनि यसलाई अचम्मको चन्द्रग्रहण भनिने गरिएकोछ ।

आखिर के हो पेनम्ब्रल चन्द्रग्रहण?
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छाँयाँ दुई प्रकारको हुन्छ, सघन र विरल ।

यदि चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नांगो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन । पात्रोमा प्रायजसो नांगो आँखाले देख्न सकिने ग्रहण मात्रै उल्लेख गरिएको हुन्छ ।
यो ग्रहण वैज्ञानिकका लागि अध्ययनको विषय हुने भएकोले पनि महत्वपूर्ण मानिन्छ । पेनम्ब्रल ग्रहणलाई यसअघि नेपालीकरण गर्न खोजिए पनि चलनचल्तीमा भने अझै आएको पाइँदैन ।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘विरल छाँयाँ नजिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो । तर, त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो । यसअघि २३ मार्च २०१६ मा पेनम्ब्रल चन्द्र ग्रहण लागेको थियो ।