राष्ट्रनिर्माणका नायकलाई सम्झन नपाउनु दुखद्ः मेयर राणा
नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकाले यसपटकको पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा नगर्ने निर्णय गरेकोछ । शुक्रबार दिँउसो उपमहानगरपालिकामा बसेको नगरको बोर्ड बैठकमा २६ जना कार्यपालिका सदस्यहरुले उक्त दिवस नमनाउने र सोही दिवसका नाममा सार्वजनिक विदा पनि गर्न नहुने अडान लिएपछि बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
उपमहानगरपालिकाको बोर्डमा मेयर डाक्टर धवल शम्शेर राणा, उपमेयर उमा थापामगर सहित ३३ जना कार्यपालिका सदस्य रहेकाछन् । जसमा नेकपा, काँग्रेस र समाजवादी पार्टीका तर्फबाट २६ जना र राप्रपा नेपालका तर्फबाट ६ जना जनप्रतिनिधीहरु सहभागिता जनाउदै आएकाछन् ।
शुक्रबारको बैठकमा राप्रपा नेपालका ६ जना जनप्रतिनिधीले पृथ्वी जयन्तीका अवसरमा भव्य कार्यक्रम गर्नुपर्ने र उपमहानगरपालिका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था लगायत विविध निकायहरुमा सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।
उक्त प्रस्तावमाथि छलफल गर्ने क्रममा नेकपा र काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने उपमेयरदेखि वडा अध्यक्षसम्मका जनप्रतिनिधीले यस अवसरमा कुनै पनि कार्यक्रम गर्न र पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन नहुने अडान गर्दै विरोधमा उत्रिएपछि बोर्ड बैठकले यसपटकको पृथ्वी जयन्तीमा विदा नदिने निर्णय गरेको उपमहानगरपालिका बताउँछ ।
नेपाल एकिकरणका नायकका रुपमा हेरिएका पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ति र राष्ट्रिय एकता दिवस मनाउनका लागि नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार बोर्ड बैठक आह्वान गरेको थियो । गत वर्ष पनि उपमहानगरले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिएको थियो । तर, उक्त विदाको विरोधमा नेकपा र काँग्रेस निकट वडाअध्यक्षहरुले वडा कार्यालय सञ्चालनमा ल्याएका थिए । यसले उपमहानगरपालिकाले गरेको निर्णय नै यस मातहतका वडाअध्यक्षबाटै पालना हुन नसकेको जानकारहरु टिप्पणी गर्छन् ।
पृथ्वी जयन्तीमा उपमहानगरपालिकाको हकमा राजनीतिकरुपमा उक्त विदा बिवादरहित हुन सकेको छैन । मेयर राणाले पुस २७ मा सार्वजनिक विदा दिनका लागि प्रस्ताव पेश गरेका थिए । तर, प्रस्ताव प्रति नेकपा र काँग्रेसका कार्यपालिका सदस्यहरुले असहमति जनाएपछि बिदा सम्बन्धी निर्णय हुन नसकेको मेयर राणाले बताए । उनले भने–‘कार्यपालिकाको बैठकको निर्णय अनुसार विदा दिने अवस्था सिर्जना नभएको हो । बहुमतको कदर गर्नै प¥यो ।’
टुक्रिएको नेपाललाई एकीकरण गरेर एउटै मालामा उन्दै अखण्ड नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहलाई जन्मजयन्तीका अवसरमा सम्झन नपाउँदा आफू मात्र नभई आम राष्ट्रबादी नागरिकहरु दुखि हुन पुगेको मेयर राणाले बताएका छन् ।
पृथ्वीनारायाण शाहलाई राष्ट्रिय व्यक्तित्व मान्ने तर, पृथ्वी जयन्ती मनाउने र सार्वजनिक विदा दिने कुरामा किचोलो गर्नु दुखद कुरा भएको राप्रपा नेपालका केन्द्रिय सदस्य समेत रहेका बाँकेका यूवा नेता ऋषीराज देवकोटा बताँउछन् ।
उनका अनुसार उपमहानगरपालिकाले सार्वजनिक विदा नदिएपनि राप्रपा नेपालले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।