नेपालगन्ज :नेपाल आयल निगम लिमिटेड (एनओसी)ले देशभरसहित बाँकेमा पनि ५०औं स्वर्ण जयन्ती मनाएको चर्चा छ । यद्यपी उक्त जयन्तीमा नेपालगन्जका केही बाहेक धेरै सञ्चारकर्मीलाई खबर नगरेको कारण कार्यक्रमको रिर्पोटिङमा एकदमै सास्ती खेप्नु परेको थियो । यसले पनि उक्त कार्यक्रम गुपचुपमै गरिएको पुष्टि भएको छ ।
नेपाल आयल निगम लिमिटेड नेपालगन्ज इन्धन डिपोले भव्य रूपमा स्वर्ण जयन्ती मनाएको दाबी गरिरहँदा यहाँका आम सञ्चारकर्मीलाई कार्यक्रमका बारे थाहै नहुँनुले आयल निगममा आर्थिक हिनामिनादेखि सुशासन र पारदर्शीताका बिषयमा प्रश्न खडा भएको छ ।
शनिबार आयोजित कार्यक्रमा संघीय सांसद हिराचन्द्र केसीको मेत सहभागीता रहेको सुनिएको थियो । मन्त्री नै आएको कार्यक्रममा सञ्चारकर्मीलाई थाहा नदिनुमा निगमप्रति आशंका गर्नु स्वभावीक पक्ष भएको एक सञ्चारकर्मीले बताए ।
सांसद केसीले भण्डारण क्षमता विस्तारसँगै भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको दाबी गर्दै भण्डारण क्षमता विस्तारमा निकै फड्को मारेको बताए । उनले भने ‘नयाँ प्रविधिको प्रयोगमा निगम अब्बल बन्दै गएको छ ।’
नेपाल आयल निगम लिमिटेड नेपालगन्ज इन्धन डिपोका प्रमूख नवविनोद पोखरेलले उच्च सुरक्षा संवेदनशीलताको इन्धन डिपो यतिबेला सुधारका चरणमा रहेको बताए ।
उनले भने ‘हामी भण्डारण क्षमता विस्तारसँगै भौतिक पूर्वाधारलाई पनि व्यवस्थित गर्न लागिपरेका छौं । हाम्रो कार्य सम्पादन र सेवा प्रवाहलाई अझै चुस्त र पारदर्शी बनाउन सबै कर्मचारी सक्रिय रूपमा लागेका छ ।’
स्मार्ट डिपोका रूपमा अहिलेको डिपोलाई अघि बढाउने योजना रहेको बताउँदै उनले यसका लागि अध्ययन भइरहेको जानकारी दिए । भारतीय प्राविधिकको टोलीले त्यसका लागि अध्ययन गरिरहेको छ उनले भने ‘निगमभित्रका कमीकमजोरी हट्दै गएकाले निगम सबल र सक्षम बन्दै गएको छ ।’
उक्त अवसरमा संघीय प्रहरी इकाई कर्णाली प्रदेशका एसएसपी पोषराज पोखरेल, बाँकेका सहायक प्रमूख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर र नेपालगन्ज भन्सार कार्यालयका प्रमूख शान्तिराम निरौला लगायतको सहभागीता थियो ।