कर्णालीका मुख्यमन्त्री नेपालगन्जमा
नेपालगन्ज: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य उपचारका लागि आईतबार नेपालगन्ज आएका शाहीले यहाँस्थित उद्योगी, व्यवसायीसंगको भेटघाटमा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै गाभिनुपर्ने बताउदै भने (बाँके र बर्दियालाई कर्णालीमा गाभ्न कर्णालीका सबै राजनीतिक शक्ति एकजुट भएकाछन् । अब तपाइहरुपनि यो विषयलाई जोडतोडका साथ उठाउनुहोस् ।
नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावी दौरानकै बेला नेपालगन्ज आएका मुख्यमन्त्री शाहीले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह र समाबेसी उद्योगी व्यवसायी समुहसंग आईतबार छुट्टाछुट्टै भेट गरे ।
दुवै प्यानललाई भेट्दै मुख्यमन्त्री शाहीले निर्वाचन सभ्य र भव्यरुपमा सफल पार्न शुभकामना समेत दिए । उनले कर्णाली प्रदेशको आर्थिक करिडोरका रुपमा बाँके रहेको भन्दै बाँके बर्दिया कर्णालीमा मिसाइनुको विकल्प समेत नरहेको बताए ।
बाँके बर्दिया कर्णालीमा स्वागतछ, हामी आतुर छौं उवासंघको निर्वाचनसगैं कर्णालीमा गाभिन आन्दोलन गर्न जरुरी रहेको उनले बताए ।
प्रदेश ५ को नमिल्दो सीमांकनप्रति रुष्ट बाँके र बर्दियामा कर्णाली प्रदेशसंग समायोजन हुनुपर्ने आवाज यतिवेला चुलिदो छ ।
यद्यपी यी आवाज भने विवादमुक्त बन्न सकेको छैन् । मधेश केन्द्रित राजनीतिक शक्तिले कर्णालीमा जाने विषयलाई अस्वीकार गर्दै आएका छन् । मुख्यमन्त्री शाहीले सबै एकजुट भएर दवाव सिर्जना गर्न सके मात्र शिर्ष राजनीतिक नेतृत्वले यसबारेमा सोच्ने अवस्था आउने बताए ।