नेपालगन्ज:मौसममा आएको परिर्वतनसगैं चिसो बढेकोछ । चिसो सकिएको अनुभूति गरिरहेका बाँकेबासीलाई पुस अन्तिम सातादेखि ह्वात्तै बढेको चिसोले थप कष्टकर बनाएकोछ ।
दिनहुँ बढ्दै गरेको चिसोले यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ । केहीदिनदेखि दिनभरीजसो लाग्ने गरेको हुस्सु र चिसो हावाका कारण यसक्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको हो ।
केहीदिन अघि मौसम सफा भई घाम लागेको भएपनि पछिल्लो करिब एकहप्तादेखि नेपालगन्ज लगायत यसक्षेत्रमा घाम लाग्न सकेन । शुक्रबार, शनिबार र आईतबार नेपालगन्जको तापक्रम न्यून हुदाँ यसक्षेत्रमा चिसो बढ्यो ।
चिसोका कारण नेपालगन्जमा सर्वसाधरणको उपस्थित पातलिएकोछ । चिसो छल्न सर्वसाधरण तथा ब्यापारिहरु आ–आफ्ना घर, पसल अगाडी आगो बालेर न्यानो बनिरहेकाछन् ।
सोमबार मन्ध्यान्हपछि खुलेको मौसम र घाम लाग्दा बाँकेबासीले न्यानो अनुभूति गरे । चिसोमा आगो ताप्न नपाउँदा सर्वसाधारणको जीवन कष्टपुर्ण बनेको छ । चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वास प्रश्वासमा समस्या देखिने, बृद्घ बृृद्घामा जाडोले कठ्याग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न भएपछि अस्पतालमा पनि विरामीको संख्या बढेकोछ ।
जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारण कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको व्यवस्थापनमा भने स्थानीय प्रशासनले खासै चासो नदिएको जनगुनासो पनि बढेकोछ ।
चिसोका कारण जनजिवन प्रभावित भएपछि पुसको मध्येतिर नेपालगन्ज उपमहानगरपालिकाले चिसोबाट बच्न चोक–चोकमा निःशुल्क दाउरा वितरण गरेको थियो।
उपमहानगरको आवतजावत बढी हुने स्थानमा आगो ताप्ने व्यवस्था यसअघि उपमहानगरपालिकाले मिलाएको थियो । बढेको जाडोले बिद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको र चिसोबाट बच्न सबैले सजकता अपनाउन चिकित्सक बताउँछन् ।