हेड्क्वार्टरद्वारा बाँकेमा तस्करी नियन्त्रण गर्न नसकेको आरोप
नेपालगन्ज: बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको सरूवा भएको आधा घण्टाभित्रै पुनःबदर गरिएको छ । एसपी ओली बाँके प्रहरी प्रमुख भएदेखि बाँकेमा तस्करी बढनुका साथै उनी दर्जनबढी घट्नामा विवादमा मुछिएको भन्दै प्रहरी प्रधान कार्यालयले उनको सरूवा गरेको थियो । तर, सरूवा भएको आधा घण्टामै उनको उक्त सरुवालाई राजनीतिक दाउपेचका कारण फेरी गरिएको छ ।
उनलाई अहिले बाँके प्रहरी प्रमुखकै जिम्मेवारीमा फर्काइएको छ । प्रहरी उच्च स्रोतका अनुसार, आईजिपी सर्वेन्द्र खनालले बाँके एसपी ओलीलाई मुख्य आरोप तस्करी नियन्त्रण गर्ने नसकेको लगाएका थिए ।
एसपी ओलीले भएको सरूवा रोकिदिन बाँकेदेखि बुटवल र काठमाण्डौसम्मका राजनीतिक दलका शीर्ष नेता तथा प्रहरीका उच्च अधिकारीसँग हातपाउ जोडेका थिए ।
नेकपाका शक्तिशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’देखि शक्तिमा रहेका सबैलाई एसपी ओलीले सरूवा रोकिदिन आग्रह गरेपछि उनको सरुवा बदर भएको हो । बाँके प्रहरी प्रमुखमा आउन एसपी नवराज अधिकारी, माधव श्रेष्ठ लगाएत चार जना एसपी लाईनमा रहेका थिए ।
‘तस्करी रोक्न नसकेको भनेर आईजिपी सापले एसपी वीरबहादुर ओलीको सरुवापत्र नै तयार पार्नु भएको थियो ।’ उच्च प्रहरी स्रोतले भन्यो –‘ओलीको ठाउँमा नवराज अधिकारीलाई पठाउने निर्णय भएको थियो । पावर आएपछि आधा घण्टामै सरुवा बदर गरियो । सरुवा बदरसँगै एसपी ओलीलाई तस्करी नियन्त्रण गर्न अल्टीमेटम दिइएको छ ।’
नेकपा नेता जनार्दनले नै एसपी ओलीलाई सरुवा गराएर बाँके पठाएका हुन् । जनार्दन र एसपी ओलीको एउटै जिल्ला रुकुममा पर्छ । जनार्दनले नै अन्तिममा एसपी ओलीको सरुवा थमौती गरिदिएका हुन् ।
कोहलपुरका तात्कालिन डिएसपी हेमबहादुर शाहीको सरुवा हुनुमा राम्रो रिपोटिङ्ग नगरेको भन्दै नेकपा नेता जनार्दन एसपी ओलीसंग रुष्ट समेत रहेको स्रोतले बतायो । तर, बाँकेमा तस्करी भने रोकिएको छैन । एसपी ओलीले आफुले घुस नखाएको भन्दै विभिन्न खाले कसम खाएपनि उनको मातहत निकायबाट विभिन्न खाले तस्करी भइनै रहेकाछन् ।
गोरू तस्करी यतिबेला बाँकेमा प्रहरीको गतिलो आम्दानीको स्रोत बन्दै गएकोछ । तस्करले नक्कली कागतजातका आधारमा रातीमा गोरू तस्करी गर्दै आएका छन् । सरकारले पनि यसरी रातीमा गरिने ढुवानीलार्ई अबैद्य तथा नीति विपरित भन्दै आएको छ ।
प्रहरीको गतिलै सेटिङ्मा बाँकेका गनापुर, फुल्टेक्रा लगायतका क्षेत्रमा हरेक दिनजसो गोरू तस्करी हुँदै आएको छ । प्राप्त सूचनालाई आधार मान्दा तस्करले सहजै रूपमा गोरू लैजान बाँके प्रहरी मातहतका विभिन्न ईलाका र चौकीमा मासिक रकम बुझाउने गरेका छन् । उक्त रकम ईलाकादेखि माथिल्लो निकायसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।
यहाँको कोहलपुर ईलाका प्रहरी कार्यालयमा मासिक एकलाख, अगैया प्रहरी चौकीमा ५० हजार, ईलाका प्रहरी चौकी धामपुरमा २५ हजार, कुसुम प्रहरी चौकीमा २५ हजारका दरले गोरू तस्करले रकम बुझाउँदै आएको तथ्य खुलेको छ ।
नेपालगन्ज आसपासका क्षेत्रबाट ढुवानी हुने गोरू लगायतका बस्तुभाउ राप्तीसोनारीको लटनियाँ, खैराभट्टी र अगैयामा जम्मा गरेर ट्रकमा लोड गर्ने गरिएको स्रोत बताउँछ ।