ममको विकल्प बन्दै ‘ढिक्री’
File Photo
नेपालगन्जः बाँके, बर्दिया लगायत देशभरका थारु बस्तीमा माघीको रौनक बढेको छ । काम विशेषले बाहिर रहेका थारु समुदायका मानिस जन्मथलो पुग्न थालेका छन् ।
माघी पर्वको तयारीका लागि यतिवेला थारु बस्तीमा खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाई गर्ने लगायतका कामहरु सकिएका छन् ।
थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको छ । माघे संक्रान्तिलाई थारु समुदायले नयाँ वर्षका रुपमा पनि मनाउने गर्दछन् । यो पर्वसगैं थारु समुदायको नयाँ वर्ष शुभारम्भ हुनेछ । थारु समुदायले थारु संवत २६४२ को भव्य विदाई गरि २६४३ को स्वागतका लागि गाउँ टोललाई सजाएका छन् । विशेषगरि माघीमा नाचिने मघौटा, धमार झुम्रा नाचमा रमाउन थारु समुदाय आतुर छन् ।
थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटी लगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवती व्यस्त हुने गर्दछन् ।
विशेषगरि माघि पर्व, पुजापाठ तथा अन्य शुभकार्यमा थारु समुदायमा प्रयोग हुने ढिक्रीले आफ्नो दायरा फराकिलो बनाउदै गएकोछ । गाँउघरहुदै सहर र तारे होटलमा समेत ढिक्रीले आफ्नो स्थान बनाएकोछ ।
थारुसमुदायसगैं अन्य समुदायले ढिक्री रुचाइदिदाँ यसको माग ह्वात्तै बढेर गएकोहो । अझ फास्टफुडका रुपमा ढिक्री नै खाने भएकाले सहरबजार, होटल, रेष्टूँरामा ढिक्रीको माग बढेकोछ । ढिक्रीको माग बढेपछि यसले अन्य फास्टफुडलाई समेत पछि पारिरहेकोछ । परम्परागत रुपमा बनाइने ढिक्री स्वास्थ्यका लागि फाईदाजनक हुुनुका साथै मःमको विकल्पका रुपमा पछिल्लो समय लिइन थालेकोछ ।
ढिक्रीको बारेमा जानौं
थारू समाजमा ढिक्रीको विशेष महत्व छ । ढिक्री थारू समुदायको प्रमुख परिकार मध्ये एक हो । विशेष गरी चामलको पिठोको ढिक्री प्रचलनमा छ ।
कुनै चाडपर्व र समारोहमा चामलको पिठोको ढिक्री नै प्रयोगमा आउने गरेको छ, तर गहुँ, जौँ र मकैको पिठोको पनि ढिक्री बनाएर खाने गरिन्छ । ढिक्रीको आकार यस्तै हुनु पर्छ भन्ने छैन । आफ्नो ईच्छाअनुसार ढिक्रीको आकार गोला, लाम्चो, चुच्चे, तिनकुने विभिन्न आकारमा बनाउन सकिन्छ । तै पनि विशेषगरी गोलो र लाम्चो ढिक्री बनाएको पाइन्छ ।
घरको कुल देवता र गाउँको भुँइह्यार देवतालाई पनि प्रसादको रुपमा ढिक्री चढाइन्छ । विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ ।
धानको अनिकाल परेका बेला बाहेक अन्य समयमा चामलको पिठोले तयार पारिएको ढिक्री नै चढाउँदै आएको थारू संस्कृति अन्वेषक अशोक थारूले बताए ।’ पाउँदै नपाउने अवस्थामा बाहेक चामलको पिठोले बनेको ढिक्री नै देवतालाई चढाउने प्रचलन रही आएको छ’ उनले भने ।
थारू समुदायले दशैं र तिहारका बेला आफ्ना कुल देवतालाई चामलको पिठोले बनेको ढिक्री चढाउँछन् । तिहारका बेला लामो ढिक्री चढाए पनि दशैंका बेला धेरै प्रकारका ढिक्री तयार गरी चढाउने गरिएको उनले बताए। उनका अनुसार दशैंमा बसिना (मसिना ढिक्री तयार गरी एउटैमा धेरै राखेर बनाइएको ब्वाझा, पौवा, लट्ठी, छिट्वा, चुल्हा) जस्ता ढिक्री तयार गरी देवतालाई चढाउने गरिन्छ ।’ थारू प्रकृति पुजक भएकोले विभिन्न थरिका प्रकृतिलाई चिनाउने वस्तुलाई ढिक्रीको आकारमा बनाएर देवतालाई चढाइन्छ’ उनले भने ।
कसरी बनाइन्छ ढिक्री ?
सुरुमा ढिक्री बनाउने अन्नको पिठोलाई राम्रोसँग मुछ्नु पर्छ । तर, पिठो धेरै चिल्लो हुनुहुँदैन । धेरै चिल्लो पिठो भयो भने खाने बेला मुखमा चेप्टिने भई खाँदा नमजा लाग्ने हुन्छ । त्यसैले मिलमा पिसाएको पिठो भन्दा जाँतोमा पिँदेको वा ढिकीमा कुटेको पिठो ढिक्रीका लागि उत्तम मानिन्छ। थाल वा सुपोमा राखेर ढिक्री बनाइन्छ ।

यसरी तयार पारिएको ढिक्रीलाई पानीको बाफले उसिन्ने गरिन्छ । मुज र खर प्रयोग गरेर ढिक्री उसिन्ने वस्तु बनाइन्छ । उसिन्ने बेला ढिक्री राख्ने भाँडोलाई पैन र माथिबाट ढाक्ने वस्तुलाई अस्टोपी भन्ने गरिन्छ । ढिक्रीलाई मःम उसिने जस्तै उसिनिन्छ । डेक्चीमा पानी राखेर त्यसको माथि पैन र पैनको माथि अस्टोपी राखिन्छ । पैनको मुनी पानीको बाफ निस्कने प्वाल बनाइएको हुन्छ । प्वालबाट ढिक्री नछिरोस् भन्ने हेतुले पिँधमा काठ राखेर अड्याइन्छ ।’ यही पैनमा ढिक्री राखेर माथिबाट बाफ रोक्न अस्टोपी राखिन्छ । बाफ बाहिर जान नपाएपछि मःम जस्तै ढिक्री उसिनिन्छ’ थारू संस्कृतिका जानकार एकराज चौधरीले भने ।
स्वास्थ्यलाई फाइदाजनक
ढिक्रीमा नुन, तेल, मसला केही नमिसाइने भएकोले यो परिकार खाँदा नकारात्मक असर नगर्ने थारू समुदायका अगुवा साधुराम चौधरीले बताए । उनले बाफमा उसिनिने भएकोले यो परिकार स्वास्थ्यका लागि फाइदाजनक भएको बताए ।’ मःमको विकल्प बन्दै छ । मममा अनेक थरिका मसला राखेर बनाइन्छ । तर, ढिक्रीमा कुनै किसिमका वस्तु राखिदैन’, उनले भने, ‘त्यसैले यो खाँदा स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन कुनै असर गर्दैन ।’
पछिल्लो समय ढिक्रीमा नरिवलको धुलो राख्न थालिएको छ । ढिक्रीलाई मिठो बनाउन नरिवललाई मसिनोगरी काटेर चामलको पिठोमा मिसाउन थालिएको चौधरीले बताए । ‘परम्परागत रुपमा बनाइने ढिक्रीमा केही पनि हालिदैन, पछिल्लो समय मिठो बनाउन कसै–कसैले मसिनो गरी नरिवल काटेर हाल्न थालेका छन्’, उनले भने ।
गाउँदेखि शहरसम्म बढ्दै ढिक्रीको माग
थारू समुदायमा मात्र सीमित ढिक्रीको माग दिन प्रतिदिन बढ्दै गएको छ । अहिले काठमाडौँमा समेत थारू परिकारका रेष्टुरेन्ट खुल्न थालेका छन् । पश्चिम तराईका जिल्लामा पनि थारू परिकार खुवाउन होम स्टे संचालनमा आएका छन् । थारू बाहुल्य क्षेत्रमा हुने कार्यक्रम र बाहिरबाट आएका आगन्तुकलाई ढिक्रीको परिकारले स्वागत गर्ने प्रचलन विकसित भएको छ ।
कुनै कार्यक्रम, समारोह वा मेला, महोत्सवमा पनि ढिक्रीको परिकार बिक्री हुन थालेको छ ।’ पहिले चाडपर्व र देवी–देवतालाई चढाउन प्रसादमा सीमित ढिक्री अहिले ठूलाबडा र देशी, विदेशी पाहुनालाई स्वागत गर्ने परिकारको रुपमा विकसित भएको छ’, थारू अगुवा वीरबल चौधरीले भने ।
उनले ढिक्रीको परिकार आम्दानीको स्रोत बन्न थालेको बताए ।
होमस्टे, मेला, महोत्सवमा स्टल राखेर ढिक्रीबाट मनग्य आम्दानी गरेको थारू हस्तकला ब्यवसायी निरु चौधरीले बताइन् । उनले मेला, महोत्सवमा दैनिक चाररपाँच हजारको ढिक्री बिक्री हुने गरेको जानकारी दिइन् । ‘गैरथारूहरू ढिक्री खोज्दै स्टलमा आउँछन्’, उनले भनिन्, ‘पहिले घरमा मात्र सिमित ढिक्रीको परिकार अहिले बजारमा समेत विस्तार भएको छ ।’