एक वर्षमा करिब १२ सय मानवअधिकार हनन्


एक वर्षमा करिब १२ सय मानवअधिकार हनन्

नेपालगन्ज: प्रदेश पाँचको मानवअधिकार चिन्ताजनक रहेको पाइएकोछ । वर्ष पुस्तक प्रकाशनको तयारीमा रहेको ईन्सेकले मंगलबार नेपालगन्जमा आयोजना गरेको मानवअधिकारको अवस्था विषयक छलफलमा यस्तो तथ्य बाहिरिएको हो ।

ईन्सेकद्वारा सार्वजनिक गरिएको तथ्यांकमा प्रदेश पाँचमा एक वर्षको अवधिमा एक हजार १ सय ८३ मानवअधिकार हनन घटना भएकाछन् । जसले गर्दा सन् २०१९ मा प्रदेश ५ को मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको तथ्यांकहरुले देखाएकोछ ।

प्रदेश पाँचमा अझैपनि राज्य तथा गैरराज्यपक्षबाट हत्या, गिरफ्तार, बलात्कार, जातीय छुवाछुत तथा घरेलु हिंसाका घटना भइरहेको देखिएपछि मानवअधिकारको अवस्था सन्तोषजनक नभएको हो । ईन्सेकद्वारा सार्वजनिक गरिएको सन् २०१९ मा प्रदेश ५ को मानवअिधकारको अवस्था हेर्दा एक वर्षमा बलत्कार तथा यौन दुव्र्यवहारका ३ सय २९ घटना रहेको बाहिर आएकोछ ।

यो बालिका बलात्कार, यौन दुव्र्यवहार २ सय ९ तथा महिला बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार १ सय २० वटा गरि ३ सय २९ वटा घटना भएकाछन् । यसमा तीन वटा राज्यबाट घटना भएकाछन् । ईन्सेकले निकालेको तथ्यांकमा यस्तो देखिएको हो ।

यस्तै यो वर्षमा राज्यपक्षबाट ४ जनाको हत्या भएको छ । परिवारजनबाट १७ जनाको हत्या भएको ईन्सेकको तथ्यांकले देखाएकोछ । यसैगरि राज्यपक्षबाट ७४ जना गिरफ्तारमा परेकाछन् । भने जातीय छुवाछुतमा ६, कथित बोक्सी आरोपमा ४, घरेलु हिंसामा ७ सय ४९ वटा घटना भएको ईन्सेकद्वारा जारी तथ्यांकमा उल्लेखछ ।

प्रदेश पाँचको मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै इन्सेकका ५ नम्बर प्रदेश संयोजक भोला महतले मानव अधिकारको अवस्था सन्तोषजनक नदेखिएको बताउँदै कारागार बन्दी क्षमता भन्दा धेरै रहेको, द्वन्द्वपीडितले न्याय नपाएको, शिक्षा, स्वास्थ्यमा सहज पहुँच पुग्न नसकेको बताएकाछन् ।

अन्तरक्रिया कार्याक्रमका प्रमुख अतिथि संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले कानून बनेर मात्रै समस्याको समाधान नहुने भन्दै कानूनको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा उपस्थित नेपाल बार एशोसियशनका वरिष्ठ उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका कृष्णचन्द्र चपागाई, डिएसपी शिवबहादुर सिंहले मानवअधिकारकोे सवाल र यसले निम्त्याएको चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा माईती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले गत वर्ष महिला बेचविखनको घटनालाई प्राथमिकताका साथ ईन्सेकले राखेकोमा यस वर्ष छुट्न गएको भन्दै यी घटनालाई पनि वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिए ।

अन्तरक्रियामा अधिकारकर्मीहरु हिमराईट्सका प्रकाश उपाध्याय, सुरेशकुमार गौतम, प्रभात सिंह ठकुरी, विश्वजीत तिवारी, नमस्कार शाह, बार अध्यक्ष विकास आचार्य लगायतले स्थानीय निकायमा भ्रष्टाचार मौलाउदै जानु, शुसाशन कायम नहुनु जस्ता बेतिथिहरु बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।