माघीको अवसरमा नाँचगान गर्र्दै बाँके, राप्तीसोनारी–३ बैजापुरका थारु महिला । फाईल तस्बिर: सेतोखरी
नेपालगन्ज:उहिले माघी आउनुभन्दा एक महिना अगाडीदेखी नै गाउँमा मादल बज्न सुरु हुन्थ्यो । पछिल्लो समयमा माघीको अघिल्लो दिन सम्म पनि गाउँमा कतै मादल बजेको सुनिदैन । माघीको अवसरमा आयोजना हुने मेला, महोत्सबमै सबैको ध्यान केन्द्रित हुन थाल्यो । यसले गर्दा थारु समुदायको संस्कृती, परम्परा विस्तारै हराउँदै गएको अगुवाहरुको चिन्ता छ ।
यस्तै चिन्तामा छन्, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ निवासी ६९ वर्षिय तुलसीराम थारु । थारु समुदायको झण्डै ८० प्रतिशत जनसंख्या रहेको राप्तीसोनारीको बैजापुरका कतिपय थारु बस्तीमा यसवर्ष माघीको अघिल्लो दिनसम्म पनि खासै रौनकता देखिएन् ।
‘युवाहरु जति सबैको ध्यान महोत्सबतिर गयो, हामी पनि उमेरका हिसाबले बुढो भईसकिम्, कस्ले गीत गाउने, को नाचिदिने ?’ तुलसीराम प्रश्न गर्छन् । पछिल्लो वर्ष विस्तारै माघीको रौनकता घट्दै गएको उनी स्वीकार गर्छन् । माघी पर्वलाई हिन्दु धर्ममा आस्था राख्नै सबैले मनाउँछन् ।
तर, विशेषगरी थारु समुदायले यो पर्वलाई महान पर्वका रुपमा मनाउने चलन छ । यसलाई थारु समुदायले नयाँ वर्षका रुपमा पनि लिने गरेको पाईन्छ । वर्षभरीका नयाँ योजना थारु समुदायले यसै माघी पर्वमा बनाउने गर्छन् ।
बढ्दो आधुनिकताले गर्दा ऐतिहासिक पर्व माघीको महत्व र रौनकता घट्दै गएकोमा समाजसेवी तुलसीराम चिन्तित छन् । उनी भन्छन्, ‘गाउँमा पहिला जस्तो नाँचगान र रमाईलो नहुँदा कतै माघी पर्वको महत्व घट्दै जाने त होईन्, भन्ने चिन्ता हामीलाई छ, यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ ।’
थारु समुदायमा पुरुष प्रायः रोजगारीका लागी बाहिर गएका छन् । महिलाहरु जम्मा भएर सामान्य रुपमा मनोरञ्जन मात्रै गर्ने गर्छन् । माघीको अवसरमा नाचगान गर्ने र माघी पर्वका दिन नजिकैको खोला र तालमा गएर नुहाउने चलनलाई अहिलेको पुस्ताले बिर्सदै गएको छ ।
माघको रौनकता पहिलेको भन्दा अहिले हराउँदै गएको कुरामा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु पनि सहमत छन् । पहिले गाउँमा हुने थारु नाँचगानमा स्वयं सहभागी हुन्थ्ये । तर, अहिले नाँचगान गर्ने चलन धेरै कम भइसकेको उनको भनाई छ । थारु समुदायको परम्परागत सँस्कृती हराउँदै गएकोमा गाउँपालिका अध्यक्ष थारुले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समयमा विकसित प्रविधी (मोबाईल, इन्टरनेट) लगायतले गर्दा पनि थारु समुदायका नयाँ पुस्ताहरु नाँचगानमा त्यति रुची राख्दैनन् । नयाँ पुस्ताले स्थानीय नृत्यलाई चासो दिन छाडिसकेको थारु अगुवा बताउँछन् । ‘माघीको रौनकता हराउनुमा नयाँ प्रविधीको विकाससँगै थारु कला, सँस्कृती संरक्षणमा नयाँ पुस्ताको चासो नहुनु पनि एउटा कारण हो,’ गाउँपालिका अध्यक्ष थारुले भने ।
माघी पर्वमा थारु समुदायले सुँगुरको मासु, मुसा, सिद्रा माछा, ढिक्री, लगायत परिकार बनाएर खान्छन् । यसका साथै मघौटा र छोक्रा नाँच पनि नाच्ने चलन छ ।
हरेक वर्षको माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् मकर संक्रान्ति पर्वका रुपमा मनाईन्छ । बुधबार(आज) माघी पर्व धुमधामका साथ मनाईदैछ ।
माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित भुवरभवानी मन्दिर, दाङको रिहार, बाह्रकुने दह, प्युठानको स्वर्गद्धारी, बर्दियाको ठाकुरबाबा मन्दिर लगायत धार्मिक स्थलमा ठुलो मेला लाग्ने गर्दछ ।
यस्तै प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिएकोछ ।