चिसोका कारण जनजिवन प्रभावित
नेपालगन्ज: पश्चिमी वायुको असरले यतिवेला नेपालगन्ज सहित देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेकोछ । आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी वायुको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको छ । जसका कारण वर्षा र हिमपातसगैं चिसो बढेको छ ।
यो प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको हुदाँ आज बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने मौसमविद् बताउँछन् । तर, देशभर लगातार झरीको सम्भावना भने छैन ।
आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् बताउँछन् ।
चिसोका कारण जनजिवन प्रभावित
मौसममा आएको परिर्वतनसगैं चिसो बढेकोछ । चिसो सकिएको अनुभूति गरिरहेका बाँकेबासीलाई पुस अन्तिम सातादेखि ह्वात्तै बढेको चिसोले थप कष्टकर बनाएकोछ ।
दिनहुँ बढ्दै गरेको चिसोले यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ । केहीदिनदेखि दिनभरीजसो लाग्ने गरेको हुस्सु र चिसो हावाका कारण यसक्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको हो ।
केहीदिन अघि मौसम सफा भएपनि पश्चिमी वायुको असरका कारण नेपालगन्ज लगायत यसक्षेत्रमा बिहीबार विहानदेखि वर्षा भइरहेकोछ । यतिवेला नेपालगन्जमा पानी पर्नेक्रम रोकिएको भएपनि मौसम खुला भने भएको छैन ।
चिसोका कारण नेपालगन्जमा सर्वसाधरणको उपस्थित पातलिएकोछ । चिसो छल्न सर्वसाधरण तथा ब्यापारिहरु आ–आफ्ना घर, पसल अगाडी आगो बालेर न्यानो बनिरहेकाछन् ।
चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वास प्रश्वासमा समस्या देखिने, बृद्घ बृृद्घामा जाडोले कठ्याग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न भएपछि अस्पतालमा पनि विरामीको संख्या बढेकोछ ।