थामिएन सुदूरमा हिमपात


थामिएन सुदूरमा हिमपात

File Photo

डोटी : मौसममा आएको परिवर्तनका कारण बुधबारदेखि डोटीलगायत पहाडी तथा हिमाली जिल्लामा चौथोपटक हिमपात सुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै पुनस् हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात सुरु भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका १ का हरि नेपालीले बताए ।

उनले भने, “गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।” हिउँदमा लगाएको बालीमा पर्याप्त पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले चौथोपटक हिउँ पर्दा किसान भने खुसी भएका छन् । यहाँका उच्च लेकाली भेकमा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपात भइरहँदा सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

हिमपातले चिसो बढेसँगै ज्येष्ठ नागरिक तथा बालबालिका प्रभावित भएका छन् । यहाँका उच्च लेकाली भेकमा बाक्लो हिमपात भइरहेको छ । दिपायल, सिलगढीलगायत ठाउँमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातले तापक्रम पनि घटेको छ । चिसोले विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुले सुझाएका छन् । -रासस