पाँच दशक बित्यो पुल बनेन


पाँच दशक बित्यो पुल बनेन

खजुरा गाँउपालिकाको वडा नम्बर ३ स्थित बी गाँउ–धौलागिरी जोड्ने पुल । सौजन्य तस्विर: रामु ओली

नेपालगन्ज: समग्र खजुराको विकासका लागि दीर्घकालिन योजना निर्माण गर्ने उद्देश्यकासाथ बृहत खजुरा सम्मेलन गरेको खजुरा गाँउपालिकाले करिब ५ दशकदेखी भत्किएको पुल पुर्ननिर्माण गर्न चासो दिएको छैन ।

बडो धुमधामका साथ गत कार्तिक ६ र ७ गते बृहत खजुरा सम्मेलन गर्दै गाँउपालिकाको कायापलट गर्ने मत्वाकाक्षिं योजना अघि सारेका गाँउपालिका अध्यक्ष किस्मतकुमार कक्षपती उक्त पुल पुर्ननिर्माणप्रति बेखबर बन्दा बीगाँउ–धौलागिरी पुलको अस्तित्व जोखिममा परेकोछ ।

बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ३ बी गाँउ र धौलागिरी क्षेत्र जोड्ने उक्त पुल पञ्चायतकालिन मुख्य आवातजावतको मार्ग थियो । करिब २०२७ सालतिर पुनर्वास कम्पनीले निर्माण गरेको सो पुल करिब १० वर्षपछि बाढीले भत्काएपछि कसैले पनि पुर्ननिर्माणमा चासो दिएका छैनन् ।

पुनर्वास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बाँके–बर्दिया जोड्ने मार्गको रुपमा रहेको स्थानीय लक्ष्मण बुढामगर बताउँछन् । बि गाउँ, ए गाउँ, एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एकमात्र पुलको रुपमा रहेको उनी बताँउछन् । खजुरामा रहेको कपास बिकास समितिबाट उत्पादित कपासको ओसारपसारका लागि उक्त पुल नै मुख्य मार्ग रहेको थियो ।

स्थानीय जानकारका अनुसार पुल भत्किएपछि पनि लामो समयसम्म स्थानीयले विकल्पका रुपमा प्रयोग गरेका थिए । सडक सञ्जालको छुट्टै ईतिहास बोकेको बी गाँउ–धौलागिरी जोड्ने उक्त पुलको विकल्पमा नयाँ बाटाहरु निर्माण भएपछि पुर्ननिर्माण हुन सकेन ।

करिब ५ दशकको अवधिमा थुप्रै सरकार परिवर्तन भए तर, बि गाउँ–धौलागिरी जोड्ने सो पुल पुर्ननिर्माणमा कसैले पनि चासो राखेका छैनन् । स्थानीय निकायको निर्वाचनसगैं जनप्रतिनिधी आए तर, स्थानीय समस्या समाधान हुनुको साटो ज्यूँका त्यूँ रहे ।