डुडुवा (बाँके): बाँकेका जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको मासिक बैठक आईतबार बाँकेको डुडुवा गाउँपालिकामा बसेको छ । यसअघि सदरमुकाम केन्द्रित जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको बैठक जनप्रतिनिधी आएसगैं स्थानीय तहमा गरिदै आएकोछ । डुडुवा गाउँपालिकाको स्वागतमा भएको बैठकले सरकारी कार्यालयबाट प्रवाह हुने सेवासुविधा बारे मासिक प्रगति तथा समिक्षा गरि थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारका कामकारवाही प्रक्रियालाई प्रभावकारी बनाउन कार्यालय प्रमुखहरुको विशेष भूमिका रहेकाले स्थानीय तहलाई पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले गाउँपालिकाका कार्ययोजना, काम कारवाही प्रक्रिया, सेवाको गुणस्तरीयता प्रभावकारिता, सेवाग्राहीका अपेक्षा र विकास निमार्णका कार्य लगायतका विषयमा जानकारी गराएका थिए ।
बैठकमा जिल्लाका सम्पुर्ण कार्यालयका प्रमुखहरुले आ–आफ्ना कार्यालयबाट सम्पादन हुने कार्यप्रगति, समस्या तथा चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले सरकारी कार्यालयका काम कारवाही प्रक्रियालाई गुणस्तरीय तथा प्रभावकारी बनाई सुशासनमुखी कार्यमा जोड दिदै निर्देशन दिए । उनले नेपाल सरकारको विद्यमान कानून तथा नागरिक वडापत्र अनुसारको सेवा निर्धक्कका साथ प्रवाह गर्न कार्यालय प्रमुखलाई आग्रह गरे ।
बैठकमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रहरी प्रमुख वीरबहादुर ओली लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । गम्भीर रुपमा छलफल तथा कार्ययोजनाका लागि कार्यालय प्रमुखहरुको नियमित मासिक बैठक विभिन्न स्थानीय तहहरुमा बस्ने गरिएको छ ।