नेपालगन्ज: चिसोबाट जोगाउन बृद्धबृद्धालाई न्यानो लुगा प्रदान गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले वडामा रहेको ७० वर्ष माथिका बृद्धबृद्धालाई न्यानो लुगा स्वरुप ब्ल्याङ्केट प्रदान गरेको हो ।
लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडा कार्यालयले ब्ल्याङकेट तथा फलफुल वितरण गरेको जनाएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको अध्यक्षतामा भएको न्यानो लुगा वितरण कार्यक्रममा वडाका १ सय ८५ जना वृद्धवृद्धालाई सम्मानसहित उक्त सामाग्री प्रदान गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष बेहनाले बृद्धबृद्धाको स्वास्थ्यप्रति जिम्मेवार बन्दै वडाबाट सहयोग तथा सम्मान गर्न पाँउदा खुशी भएको बताए । उनले बृद्ध आमाबाबुको सम्मान गर्न नसक्ने सन्तानले प्रगती गर्न नसक्ने बताउँदै बृद्धबृद्धाको माया,सम्मान तथा उचित स्याहारका लागि सवै गम्भीर हुनुपर्ने औल्याए ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य इन्दिरा शाहीले जिवनको उत्तरार्धमा पुगेका बृद्धबृद्धाको हेरचाह तथा सम्मानका लागि घरबाटै उचित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले वडा कार्यालबाट वडाबासीका लागि वर्षेनी यसखाले कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताईन ।
कार्यक्रममा वडा सदस्य मेनुका जोशी, जयपत्रा कोरी, वडा सचिब गौरी शाही, सह–सचिब राजकुमार कार्की, झरना भट्टराई लगायतले उक्त सामान प्रदान गरेका थिए । वडा सचिव गौरी शाहीका अनुसार आगामी माघ ११ गते बृद्धबृद्धा लक्षित निःशुल्क आँखा शिबिर कार्यक्रम गरिने जानकारी दिइन ।