‘सद्भावको सहर नेपालगन्ज’


‘सद्भावको सहर नेपालगन्ज’

नेपालगन्ज : मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जद्वारा प्रकाशित ‘सद्भावको सहर नेपालगन्ज’ पुस्तक विमोचन गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिकाको आंशीक सहयोगमा प्रकाशित लेख संग्रहीत पुस्तकको सोमबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शमशेर राणाले विमोचन गरेका हुन् ।

नेपालगन्जका विशिष्ठ व्यक्तिहरुद्वारा लेखिएका नेपालगन्जसँग सम्बन्धित विश्लेष्णात्मक लेखहरु पुस्तकमा समेटिएका छन् ।

अमृत शर्मा ढकालद्वारा सम्पादित पाँच सय ३२ पेजको उक्त पुस्तकमा नेपालगन्जको ईतिहासदेखि वर्तमानसम्मको समग्र पाटोमा प्रकाश पार्ने प्रयास गरिएको छ । नगर प्रमुख राणाले पुस्तकले नेपालगन्जको समग्र अध्यनसँगै थप अनुसन्धान गर्न मद्दत पु¥याउने दस्तावेजका रुपमा रहने विश्वास व्यक्त गरे ।

विमोचन कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले अध्ययनमुलक पुस्तक प्रकाशनमा उपमहानगरपालिकाको सहकार्य रहने विश्वास दिलाईन् ।

विमोचित पुस्तकमाथि टिप्पणी गर्दै खगेन्द्र गिरि ‘कोपीला’ले सद्भावको सहर नेपालगन्जलाई अझैं परिमार्जित गरेर थप विषयवस्तु सहित दोस्रो संस्करण प्रकाशन गर्न पनि अपील गरे ।

मध्यपश्चिम स्रष्टा समाजका सल्लाहकार, पुस्तकका निर्देशक एवं वरिष्ठ साहित्यकार सनत रेग्मीले प्रकाशन गर्दाको अनुभव, समावेश लेख र विषयबारे प्रष्ट्याएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमील्सेनाले स्थानीय सरकारले पुस्तक प्रकाशनमा सहयोग गर्न कञ्जुस्याँई गर्न नहुने भन्दै अपनत्व र स्वामित्व लिन पनि आह्वान गरे ।

स्रष्टा समाजका कार्यवाहक अध्यक्ष एवम पत्रकार शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका सचिव अमृतशर्मा ढकालले गरेका थिए भने सञ्चालन सदस्य विपी अस्तुले गरेका थिए ।

सोही समारोहमा सद्भावको सहर नेपालगन्ज पुस्तक लेखकलाई पुस्तकसहित पारिश्रमिक पनि उपलव्ध गराइएको आयोजकले जानकारी दिएकोछ ।