६ बुँदें घोषणपत्र जारी गर्दै यूवा संवाद सम्पन्न


६ बुँदें घोषणपत्र जारी गर्दै यूवा संवाद सम्पन्न

नेपालगन्ज : यात्रामा रहेका तथा जोखिममा परेका बालबालिकाको संरक्षणका लागि स्थानीय सरकारसंग युवा संवाद कार्यक्रम गरिएको छ ।

कार्यक्रमबाट ६ बुँदे घोषणापत्र जारी समेत गरिएको छ । बालश्रमलाई पूर्णरूपमा अस्विकार गर्ने, बालश्रमका असरका बारेमा जनचेतना फैलाउने र नियमितरुपमा जनचेतनामूलक कार्यक्रम गर्ने, ईटा भट्टाहरुको नियमितरुपमा अनुगमन गर्ने, बालश्रम उन्मूलन गर्ने सरकारको रणनीतिलाई साकार पार्न योगदान दिने, सबै क्षेत्र र समुदायमा समन्वय र सहकार्यका साथ अभियान सञ्चालन गर्ने, बालश्रम राख्ने र बालश्रम
गराउनेमाथि नियम अनुसार कारवाही गर्ने लगायतका उक्त ६ बुदेँ घोषणापत्रमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले नीति र ऐन कानूनकै अभावले बालबालिकाका क्षेत्रमा सोँचे जस्तो काम गर्न नसकेको बताईन् । उनले विगत भन्दा बालबालिकाका क्षेत्रमा बजेट बढेको भन्दै बालमैत्री नगर घोषणाका लागि सुक्ष्म ढंगले उपमहानगर काम गरिरहेको प्रष्ट्याइन ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमालले वडाले बालबालिकाको क्षेत्रमा चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ छुट्टयाएको बताए । उनले उक्त बजेट कुल बजेटको १५ प्रतिशत बढी रहेको स्पष्ट पर्दै चालू आर्थिक वर्षमै वडालाई बालमैत्री घोषणा गर्ने तयारी रहेको हमालले जानकारी दिए ।

यस्तै कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष जुम्मन खाँ, ८ नम्बर वडाका अध्यक्ष सुरेन्द्र बैश्य, विभिन्न वडाका सदस्यहरु लगायतको उपस्थिति थियो । ग्रामीण समाज उत्थान मंच (रुसुफ) नेपालको आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य एवम् ड्युकमको सहयोगमा युवा सम्वाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाँकेमा बालबालिकाको अवस्था र बालश्रम न्यूनीकरणका लागि गरिएका प्रयासका विषयमा रुसुफका अध्यक्ष मुस्ताक अली राई, गन्तव्यहिन यात्रामा रहेका बालबालिकाको अवस्थाका विषयमा स्वतन्त्रता अभियान नेपालकी बाल अधिकारकर्मी ममता सिवाकोटी र नेपालगन्ज उपमहानगरपालिकामा बालबालिकाको क्षेत्रमा भएका प्रयासका बिषयमा महिला तथा बालबालिका शाखाकी अधिकृत आशा शाहीले प्रस्तुतिकरण गरेका थिए ।

सम्वाद कार्यक्रममा वडा नम्बर ७ कि वडा सचिव पुष्पा घिमिरे, जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन बर्मा, जिल्ला बाल क्लब सञ्जाल बाँकेकी अध्यक्ष मेनका रावत, निवर्तमान अध्यक्ष श्वेता गुरुङ, युवा परिषद् प्रदेश ५ का संयोजक सोम गुरुङ, जिल्ला युवा सञ्जालकी अन्जना चतुर्वेदी, वडा स्तरीय युवा क्लब सञ्जाल वडा नम्बर १० का ऋतिक शाही लगायतले बालबालिकाको वास्तविक अवस्था पत्ता लगाएर बालश्रम न्यूनीकरणका लागि ठोस कार्ययोजना ल्याउनुपर्नेमा सरोकारवालालाई जोड दिए ।

बालअधिकार संरक्षणका लागि स्थानीय तह गम्भीर नबनेको भन्दै बालबालिकाप्रतिको लगानी र भविष्यप्रति सजग हुन सहभागीहरुको गुनासो थियो ।