रोकिएन् बालविवाह


रोकिएन् बालविवाह

नेपालगन्ज : बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७२ (३) ख अनुसार विवाह गर्ने उमेर २० वर्ष नपुगी कसैले बालबालिकाको विवाह तय गरे विवाह गर्ने वा गराउनेलाई बालबालिका विरुद्धको कसुर मानी ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको सजाय छ ।

तर, बाँकेका आठवटै स्थानीय तहमा दैनिकजसो लुकीछिपी बालविवाह भइरहेका छन् । संघसंस्थाको तथ्यांक अनुसार बाँकेको डुडुवा, बैजनाथ र जानकी गाउँपालिकामा बालविवाह गर्नेको संख्या धेरै छ ।

स्थानीय तहले नियमनमा चासो नदेखाउँदा अझै पनि ग्रामीण क्षेत्रमा लुकीछिपी बालविवाह भइरहेका छन । बाँकेमा बालविवाह विरुद्ध एक दर्जन संस्था सक्रिय छन । तर, अधिकांश संस्था बालविवाह रोकथाममा भन्दा पनि कमाउखेतीमा व्यस्त देखिन्छन । डुडुवा, नरैनापुर लगायतका गाउँपालिकाबा बालबालिकालाई भारतमा लगेर विवाह गर्ने गरिएको छ । डुडुवा गाउँपालिका–२, बेतौंनीमा वडा कर्मचारीकी छोरीको बिहे भारतमा पक्का गरिएको थियो ।

तर, १६ वर्ष लाग्दै गरेकी छोरीको विवाह हुन लागेको नेपालगन्जमा रहेका केही गैरसरकारी संस्थाले थाहा पाएपछि तत्कालै गाउँमा गएर उत्तः विवाह रोकेका थिए ।

यद्दपी केही समयपछि किशोरीले भागेर ती युवकसँग विवाह गरिन । यस्ता घटनाले बालविवाह नियन्त्रण चुनौतीपूर्ण बनेको देखिएको छ । डुडुवा–२ मा मात्र अहिले ६ बालबालिकाका विवाह तय भइसकेको छ । तथ्यांक अनुसार ०७५÷०७६ मा १२ वटा बालविवाह रोकिएका छन । जसमा सात जना मधेसी किशोरी तथा बालिका छन् ।