नरैनापुर(बाँके): बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालनमा ल्याइएको हो ।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले शुक्रबार वडा नम्बर १ कट्कुइँयामा स्कुल बसको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले स्कुल बस सञ्चालनपछि सहज स्थितिको सुरुवात भएको बताए । उनले अभिभावकहरु अब आफ्ना बालबालिकालाई स्कुल पठाउने झंझटबाट मुक्त भएको बताए ।
सांसद् अथकले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे । नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उनले गंगापुरको जय किसान माविलाई नमुना बिद्यालयको रुपमा विकास गरिने बताए । उनले प्राविधिक धारको पढाई सुरु गर्ने प्रयास भइरहेको पनि जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षा समग्र विकासको अपरिहार्य आवश्यकता भएकाले गाउँपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको बताए । विद्यालयमा विद्यार्थीको संख्या बढाउन स्कुल बस सञ्चालन गरेको उनले बताए ।
शिक्षामा सुधार नगर्दासम्म नरैनापुर पछि परिरहने भन्दै शैक्षिक सुधारको लागि आफुलाई साथ दिन अध्यक्ष शाहले आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेकाले सोही अनुसार गाँउपालिकाले योजना सञ्चालन गरिरहेको बताए ।