नेपालगन्ज : सरकारले नेपालगन्ज विमानस्थलको सरसफाईको अडिट (सम्परीक्षण) गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले यहाँ पहिलो पटक यस्तो अडिट गर्ने योजना अघि सारेको हो ।
विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो ।
उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ आठ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले बताएको छ ।
सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच स्वयंसेवीका रुपमा नेपालगन्जसहित देशभरका १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा अहिलेको सरसफाइको अवस्थाको अडिट गरिने भएको छ ।
अडिट सकिएपछि तोकिएको समयभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरिने तयारी भएको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् । आगामी फागुन २० देखि चैत १९ सम्म (एक महिनाभित्र) मन्त्रालयलाई सरसफाइ अडिट प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख छ । विमानस्थलमा विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीयस्थलमा समेत सरसफाइलाई थप प्रभावकारी बनाइने उनी बताउँछन् ।
मन्त्रालयले शुक्रबार जारी गरेको बिज्ञप्तीअनुसार नेपालगन्जसहित धनगढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, भरतपुर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पनि सरसफाईको अडिट गरिने भएको छ ।