फोहोरी उद्योगी, सफा विद्यार्थी


फोहोरी उद्योगी, सफा विद्यार्थी

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा भएको फोहोर विद्यार्थीले सफा गरेर उदाहरणीय काम गरेकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुरमा शनिबार भएको उवासंघको निर्वाचनका वेला उद्योगी, व्यापारिले गरेको फोहोर आईतबार विहान विद्यार्थीले सफा गरेर उदाहरणीय काम गरेका हुन् ।

निर्वाचनका समय प्रयोग भएका मतदाताका पप्पलेट, पर्चा, नामावली तथा खाजा खाएका फोहोर जिभिएन कलेजका विद्यार्थीले कलेज पोशाकमै आईतबार विहान सफा गरेपछि सामाजिक सञ्जालमा यतिवेला फोहोरी उद्योगी, सफा विद्यार्थीको उपमाले चर्चा बटुलिरहेकोछ ।

हामी सवै मिलि आफू बसेको समाज स्वच्छ र सफा राखौं भन्ने ब्यानर बोकी विहानै भेरी प्राविधिक शिक्षालय क्षेत्र पुगेका जिभिएन कलेजका विद्यार्थी, शिक्षकले त्यहाँ उत्पन्न फोहोर व्यवस्थापन गर्दै सरसफाई गरेका हुन् ।

पिके इभेन्ट प्रालि र जिभिएन कलेजका विद्यार्थी तथा शिक्षकले निर्वाचनका क्रममा भएको फोहोरलाई व्यवस्थित गर्दै सरसफाई गरेकोे कलेजका सिइओ गणेश भण्डारीले सेतोखरीलाई जानकारी दिए ।

निर्वाचनका क्रममा उद्योगी, व्यापारिले भेरी प्राविधिक शिक्षालय क्षेत्र फोहोर गरेपछि यसको व्यवस्थापनका लागि आफूहरु स्वयम सरसफाईमा जुटेकोे विद्यार्थी बताउँछन् ।

आफै फोहोर गर्ने अनि आदर्शको कुरा खोक्नेहरुका लागि यो गतिलो झापड हो । पछिल्लो समय गलत संस्कार बिकृतिकारुपमा बढ्दै गएपछि सामाजिक सवाल पनि बढ्दै गएकोछ । सरसफाईमा सवैले आत्मबोध नगर्दासम्म सफा नगरको परिकल्पना हुन नसक्ने विद्यार्थी बताउँछन् ।