नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले नेपालगन्जलाई चालु आर्थिक वर्षभित्रै ‘साक्षर नगर’ घोषणा गरिने बताए ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्वद्ध पदाधिकारीहरुका लागि आयोजित ३ दिने क्षमता विकास कार्यशालाको मंगलबार समापनमा बोल्दै प्रमुख राणाले साक्षर नगर बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता भएकोमा जोड दिए ।
राणाले कार्यक्रम अन्तर्गत योजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिने बताए । कार्यक्रममा उपप्रमुख उमाथापा मगरले कार्यक्रम अन्तर्गत योजना कार्यान्वयनमा पनि सबैको ध्यान पुग्नुपर्नेमा जोड दिइन ।
तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न आग्रह गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारमा उपमहानगरपालिकाबाट भईरहेका पहल र प्रयासमा साथ दिन आग्रह गरिन् ।
‘सामुदायिक विद्यालय संरक्षणका नाममा खण्डहर बन्न दिइनेछैन’, उपप्रमुख थापाले भनिन्,–‘सुधारको पक्षमा लागौं, समस्याको समाधान खोजौं, विवाद बढाउने होइन ।’
शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादवले अभिभावकलाई साक्षर बनाउन सके मात्रे बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन सकिने मान्यताका साथ कार्यक्रम सुरु गर्न लागिएको बताए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, शिक्षक महासंघका अध्यक्ष बाबुतरुण गौतम लगायतले कार्यक्रमको प्रभावकारिताका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।