नेपालगन्जस्थित खाद्य कम्पनीको जीण भवन I तस्विर : सेतोखरी
नेपालगन्ज:सरकारी भवन संरचना बनाउन सरकारले वर्सेनी करोडौंका कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, भएका संरचना व्यवस्थापन, मर्मत, सुधार गर्न सरकारले अहिलेसम्म पनि चासो देखाएको छैन् । यसले खाद्य संस्थान नेपालगन्जका वषौं पुराना भौतिक संरचना जीर्ण बन्दै गएका छन् ।
सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नेपालगन्जसहित देशभरका डेढ सय कार्यालय तथा गोदामघरको अवस्था दयनिय बन्दै गएको छ । नेपालगन्ज अञ्चल कार्यालय परिसरका १५ सय मेट्रिक टन क्षमताका दुई गोदाम र एक क्वार्टर मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
कर्णाली प्रदेशको हुम्लामा रहेका फरक क्षमताका तीन गोदाम मर्मत र पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । सुर्खेतमा रहेका पाँच–पाँच सय टन क्षमताका दुई गोदाम मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
बर्दियाको राजापुरस्थित अञ्चल कार्यालय अन्तर्गतको तीन हजार मेट्रिक टन क्षमताका ६ गोदामघर मर्मत गर्नुपर्ने अवस्थामा छन् । खाद्यका उपत्यकामै रहेका भवन पनि जीर्ण र प्रयोगविहीन छन् । खाद्यका धेरै ठाउँका गोदामघर भाडामा दिने विकल्प पनि छ । तर, त्यसतर्फ चासो नगएको देखिएको छ ।
२०३१ सालमा स्थापना भएको तत्कालीन खाद्य संस्थानका त्यस यता बनेका अधिकांश गोदामघरको अवस्था जीर्ण छ । कम्पनी आफैंले बिक्री वितरण गर्ने खाद्यान्न भण्डारणका लागि स्थापना गरिएका गोदामघर विस्तारै भण्डारण कम गर्दै प्रयोगविहीन र मर्मतसम्भार नभएपछि जीर्ण बन्दै गएका हुन् ।
संस्थान सञ्चालनका लागि भन्दै दुर्गममा ढुवानी अनुदानमा वितरण गरिने चामलमा नाफा राख्ने तर भएकै संरचना व्यवस्थापनमा भने चासो नदिएको नियतीले करोडौंका संरचना काम नलाग्ने हुँदै गएका छन् ।
कतिपय जिल्लाका गोदामघर भूकम्पका कारण भत्किएका र चर्किएका समेत छन् । कम्पनीले आफ्नो गोदामघर वरिपरिको जग्गा सुरक्षित गर्न नसक्दा कतिपय ठाउँमा संस्थानकै जमिन मिचिएको छ ।
कम्पनीको गोरखास्थित दुई सय ५० मेट्रिक टन क्षमताको गोदाम भूकम्पबाट जीर्ण छ । ताप्लेजुङमा रहेको एउटा सानो ३० मेट्रिक टन क्षमताको गोदामघरको अवस्था कम्पनीको रेकर्डमा ‘अज्ञात’ भनिएको छ ।
उक्त गोदाम द्वन्द्वकालमा विद्रोही माओवादीले कब्जामा लिएको थियो । धनकुटामा रहेको दुई सय ५० मेट्रिक टन क्षमताका दुई र तेह्रथुमस्थित त्यत्तिनै क्षमताको एक गोदामघर जीर्ण र प्रयोगविहीन अवस्थामा छ ।
कम्पनीको वीरगन्जस्थित कार्यालयमा एक गोदामघर निर्माणधीन अवस्थामै ठेकेदार भाग्दा चार वर्षदेखि अलपत्र अवस्थामा छ । वीरगन्ज कार्यालय मातहतको हेटौंडा चौकीटोलमा रहेको पाँच सय टन क्षमताका तीन गोदाममध्ये दुई मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
खोटाङको गोदामघर जीर्ण र जग्गाको अवस्थानै थाहा नहुने गरी अलपत्र अवस्थामा छ । अञ्चल कार्यालय बिर्तामोडमा रहेको गोदामघर, कार्यालय भवन र अन्य भवन पनि जीर्ण भएर भत्किने अवस्थामा छन् ।
त्यो एकै समयमा निर्माण भएका अधिकांश भवन संरचना मर्मत गर्नुपर्ने अवस्थामा पुगेको खाद्यकी सूचना अधिकारी शर्मिला सुवेदी बताउँछिन् । ‘मर्मत गर्नुपर्ने त धेरै छन् तर तत्काललाई प्रयोगमा ल्याइएका अत्यावश्यक गोदाम तथा भवन मर्मत गर्दै आइरहेका छौं,’ उनले भनिन् , ‘त्यसमा पनि भवन सिंगार्नेभन्दा पनि छाना, झ्याल र ढोका मर्मतलाई मात्र प्राथमिकता दिनुपर्ने छ ।’ धेरै संरचना मर्मत, तारबार तथा पर्खाल निर्माण गर्नुपर्ने अवस्थामा रहेपनि पर्याप्त बजेटको अभावमा गर्न नसकिएको उनी बताउँछिन् ।