आज शहिद दिवस, विविध कार्यक्रम गरि मनाइदै


आज शहिद दिवस, विविध कार्यक्रम गरि मनाइदै

नेपालगन्ज :आज शहिद दिवस । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्दै देशभर बिहीबारबार शहिद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही
राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाइँदै आएको छ ।

वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहिद दिवस मनाइदैछ ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहिदको स्मरणमा आज नेपालगन्जसहित देशभर विभिन्न कार्यक्रम गरिदैछ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहिद सप्ताह’ मनाइँदै आएको छ ।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहिद दिवशको रुपमा मनाइएको हो ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुण्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । शहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् ।

शहिद दिवस ०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरेका छन् ।