नेपालगन्ज: यस वर्ष बाँकेमा सरकारी तवरबाट शहिद दिवस मनाइएन । शहिदको योगदानमाथि कुठराघात गर्दै प्रत्येक वर्ष माघ १६ गते मनाउदै आएको शहिद दिवसलाई बाँकेको सरकारी निकायले उपेक्षा गरेकोछ ।
शहिद दिवस मनाउनका लागि केन्द्रबाट कुनै पत्र नआएको भन्दै सरकारी तवरबाट शहिद दिवस मनाइएन । सरकारले नै दिवस मनाउनु भनेर परिपत्र नपाठाएपछि जिल्ला स्थित अधिकारीहरुले तनाव लिन चाहेनन् । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले केन्द्रबाटै परिपत्र नआएकोले दिवस नमनाएको बताए । तर, आ–आफ्नै तवरले सम्झिएको उनले बताए ।
गतवर्ष धुमधामका साथ जिल्ला समन्वय समितिको सभाहलमा शहिद दिवस मनाइएको थियो । सरकारी तवरबाटै माघ १० गतेदेखि माघ १६ गते सम्म शहिद सप्ताहका रुपमा मनाइदै आएको थियो । भने यसवर्ष शहिदको साहदतले प्राप्त प्रजातन्त्रमा नेताहरुले मस्ती गरे तर, उनको योगदानलाई भने विर्सिए ।
निरंकुश राणा शासनको विरोध गर्दै प्रजातन्त्रको पक्षमा लाग्दा शहिद भएकाहरूलाई सम्झना गर्दै गतवर्षसम्म सरकारी तवरबाट औपचारिक कार्यक्रम गरिन्थ्यो । तर, बाँकेमा भने यस वर्ष विभिन्न संघसस्थाले आ–आफ्नै तवरले शहिदलाई सम्झेकाछन् । राज्यपक्षबाटै शहिदको खुलेयाम धज्जि उडाउदैँ सरकारी तवरबाटै शहिद दिवस नमनाउनु शहिदप्रति राज्य गम्भीर नभएको प्रष्ट हुन्छ ।
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्नुको साटो एकतिहाई बहुमतको सरकारले दम्भ देखाउँदै ईतिहासलाई लत्याएकोछ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाइँदै आएको थियो ।
वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहिद दिवस मनाइन्छ ।