नेपालगन्ज: तीनदिनको प्रयासपछि तनावग्रस्त सुर्खेतको वीरेन्द्रनगर सामान्य बनेकोछ । टिप्परको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगर–३, गौतमचोकमा मंगलवार भएको दुर्घटनामा कालीकोटका–२१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त वीरेन्द्रनगर सामान्य अवस्थामा फर्किएको हो ।
सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त भएपछि मथ्थर पार्न जिल्ला प्रशासन कार्यालयले कफ्र्यु समेत लगाएको थियो । दुर्घटनापछि उत्पन्न अवस्थालाई नियन्त्रणमा लिन तीन दिनको प्रयासपछि बिहीवार पीडितपक्ष र प्रशासनबीच भएको पाँच बुँदे सहमतिले आन्दोलनरत पक्षले आफ्ना सवै कार्यक्रम फिर्ता लिएकाछन् ।
प्रहरी नियन्त्रणमा रहेका टिप्पर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।
पीडित पक्ष र स्थानीय प्रशासनसंग भएको पाँच बुदेँ सहमतिमा पीडित पक्षलाई कानून बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अघि बढाउने, पीडित पक्षलाई थप राहत र आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमति भएको छ । योसँगै शव पोष्टमार्टम गरी सद्गत गर्न आफन्त तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।