चाचाजीको चट्टानी अडानका अगाडी सबै नतमस्तक हुन्थे


चाचाजीको चट्टानी अडानका अगाडी सबै नतमस्तक हुन्थे

नेपालगन्ज: नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष, नेपाल प्रेस यूनियन बाँकेका सस्थापक सभापति, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’को असमायिक निधनप्रति नेपाल प्रेस यूनिय बाँके स्तब्ध र मर्माहत भएकोछ ।

नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष जयनारायण शाह तथा सचिव अर्जुन ओलीको संयुक्त हस्ताक्षरमा जारी शोक वक्तब्यमा उल्लेखछ ।
शोक वक्तव्यमा भनिएकोछ –‘नेपाली पत्रकारहरुका प्रेरक व्यक्तित्व अग्रज पत्रकार गुप्ताको निधनले सिंङ्गो नेपाली पत्रकारिता जगतले अभिभावक गुमाएको महसुस भएको छ ।’

उनको संघर्ष, पत्रकारिता र लोकतन्त्र प्रतिको त्याग, निष्ठा, ईमान्दारिता र सादगीपूर्ण जीवनशैली नेपाली पत्रकारिताका लागि सदैव अनुकरणीय रहनेछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको आन्दोलनमा उनको सक्रिय सहभागीताले सबैलाई उर्जा थपेको थियो ।

साप्ताहिक किरणका सम्पादकको रुपमा निरन्तर दशकौं लामो पत्रकारिता यात्राका दौरान जेल सजाय समेत ब्यहोरेका चाचाजीको चटटनी अडानका अगाडी सबै नतमस्तक हुन्थे । उनले पत्रकारिताप्रतिको आफ्नो मान्यतामा कसैसंग सम्झौता गरेनन् ।

पेशागत मर्यादामा कहिल्यै नचुकेका चाचाजी पत्रकारिता पेशामा नाती पुस्ता सक्रिय भईसक्दा पनि आफू स्वयं साईकलमा रिपोर्टिङ्गमा हिड्दा जहिले पनि नयाँ पुस्ताका लागि प्रेरणा बन्दथे ।

पत्रकारितालाई सदैव मिसनको रुपमा लिएर चाचाजीले काम गरेका थिए । पत्रकार पन्नालाल गुप्तालाई सम्मान स्वरुप नेपाली पत्रकारले, सिंगो नेपालगन्ज शहरले ‘चाचाजी’ भनेर सम्मानले बोलाउने गरेको हो ।

उनले पत्रकारिता मार्फत समाज र लोकतन्त्रलाई पु¥याएको योगदान स्वरुप गत वर्ष नेपाल प्रेस युनियन बाँकेको संयोजनमा नागरिक अभिनन्दन समेत गरिएको थियो । उनको सम्मानमा युनियनले पन्नालाल गुप्त चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको छ । युनियनको आगामी अधिवेशनमा उक्त पुरस्कार वितरणको तयारी थियो ।

नेपाल प्रेस युनियन बाँके अधिवेशनको तयारीमा रहेको र आगामी चैत्रमा युनियनको केन्द्रिय महाधिवेशन समेत नेपालगन्जमा हुन गईरहेको अवस्थामा चाचाजीको निधनले युनियन अत्यन्त मर्माहत छ ।

चाचाजीको निधनले बाँकेको पत्रकारिता जगतले त अपुरणीय क्षति ब्यहोरेको छ नै, नेपालगन्ज शहर र समग्र बाँके जिल्लाले नै अनुभवि र कर्तव्यनिष्ठ अभिभावक गुमाएकोछ ।

चाचाजी भौतिकरुपमा हामीवीच नरहेपनि उनले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान चीरकाल पर्यन्त अमिट रुपमा रहिरहनेछ । उनको पदचाप र योगदानलाई जोगाइरहनु नेपाल प्रेस युनियन बाँकेको जिम्मेवारी हो ।

यस दुःखद घडीमा चाचाजी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामना गर्दछौं । यस दुःखद र कठिन घडीमा उनका सुपुत्र नेपालगन्जका पूर्व मेयर विजय गुप्तासहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस, हार्दिक समवेदना प्रकट गर्दछौं । प्रेस युनियन बाँकेद्वारा जारी शोक वक्तब्यमा उल्लेखछ ।