नेपालगन्ज:नेपाल–भारत सीमा स्तम्भ मर्मत, सम्भार र पुर्ननिर्माणका विषयमा दुवै देशका अधिकारीविच छलफल भएकोछ । भारतको उत्तर प्रदेश, नानपारामा दुई देशका सुरक्षा अधिकारीबीच भएको बैठकले नेपाल–भारत सीमामा जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मत, सम्भार गर्ने तथा खोलाले बगाएका पिलर पुनर्निर्माण गर्ने सहमति भएको हो ।
नेपालतर्फबाट बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच र श्रावस्ती जिल्लाका अधिकारीहरु बैठकमा सहभागि रहेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार नेपाल–भारतबीच सीमा स्तम्भ व्यवस्थित गर्ने कुरामा छलफल भएको जानकारी दिए ।
नेपाल–भारत सीमा नाका अन्र्तगत बाँके जिल्लामा पर्ने स्तम्भको बारेमा जानकारी लिन नेपाल–भारतको संयुक्त टोलीले केही महिनादेखि दशगजाक्षेत्रको सर्वेक्षण गरिरहेको छ । बैठकमा फिल्ड सर्वे टीमका सदस्यको समेत उपस्थिति रहेको थियो ।
बाँकेको मात्रै भारतसँग ६५ किलोमिटर सीमा क्षेत्र पर्छ । त्यहाँ मुख्य र सहायक गरी ३ सय ७ वटा सीमा स्तम्भ छन् । ३२ वटा मुख्यमध्ये चार वटा खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । भने एउटा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।
२ सय ७५ वटा सहायक सीमा स्तम्भमध्ये १८ वटा मर्मत गर्नुपर्ने, दुई वटा पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेका छन् । ५ वटा सहायक पिलर खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी खड्का बताँउछन् ।
बैठकमा बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान, वन र नापी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।