कैदीबन्दीलाई कारागारमै शिक्षा


कैदीबन्दीलाई कारागारमै शिक्षा

दाङ : कारागार शाखा घोराहीमा ज्ञानज्योति विद्यालय नामकरण गरी कैदीलाई पढाउन शुरु गरिएको छ । ३० जना कैदीबन्दीले विद्यार्थीको रुपमा नियमित अध्ययन गरिरहेको कारागार शाखाले जनाएको छ ।

कैदी बन्दीलाई शिक्षा दिने उद्देश्यले कारागारमा विद्यालय स्थापना गरिएको हो । कारागार शाखा घोराहीमा क्षमता ७० जनाको भए पनि क्षमता भन्दा धेरै ३०६ जना कैदीबन्दी छन् । अंग्रेजी र नेपाली भाषाको कक्षा कारागारमा स्थापना गरिएको उक्त विद्यालयमा पढाइन्छ ।

टिनले बारेको सानो कोठाको भित्तामा नेपाली बर्णमाला टाँगिएको छ । कारागार भित्रको कक्षा कोठा सजाइएको छ । ठूलो पर्खालभित्रको कारगारको उक्त कक्षा कोठामा अध्ययन गर्ने विद्यार्थीको कमी पनि छैन । अटाई नअटाई केही पढ्न चाहने युवाले केही लेख्दै छन् भने एक जना शिक्षक युवकले पढाउँदैछन् ।

पढ्न आउने मध्ये लामो कैद सजाय र जरिमाना र तोकिएका र अन्य केही भर्खरै सजाय र जरिमाना तोकिएका कैदी छन् । कारणबस विभिन्न घटनामा संलग्न भई कैद भुक्तानी गर्दा पढ्न नपाएकाका लागि कारागार भित्र सञ्चालन गरिएको ज्ञानज्योति विद्यालय बरदान साबित भएको नेपाली विषय अध्ययन गरिरहेका कैदी रेशमबहादुर बुढाथोकीले बताए ।

अहिले यहाँ पढ्न पाउँदा धेरै कुरा पनि सिक्न पाएको छौँ उनले भने ‘खाली समयको पनि सदुपयोग भएको छ ।’ उनले बिगत १२ वर्षदेखि कैदीको जीवन काटिरहेका अंग्रेजी विषयमा अध्ययनरत कैदी प्रेम चौधरी पनि कारागारमा पढ्न पाउने अवसर प्राप्त भएकाले खुसी बताए ।
कारागारमा पाएको निशुल्क शिक्षा सेवालाई आफ्नो जीवन उपयोगी शिक्षाको रुपमा लिएर पढ्दै आएको उनले बताए । कारागारभित्र युवा मात्र नभई ज्येष्ठ नागरिकले पनि पढ्दै आएका छन् ।

कैदीबन्दीलाई अनौपचारिक शिक्षा दिनका लागि कारागारभित्र विद्यालय स्थापना गरिएको कारागार शाखा घोराहीका प्रमुख (जेलर) बिष्णुप्रसाद पाण्डेले बताए ।

कारागार ऐनमा शिक्षक नियुक्त गरी कैदीबन्दीलाई साक्षरता बनाउने सकिने व्यवस्था भएकाले आफूहरूले अहिले केही नभएको नयाँ अभ्यासको रुपमा काम गरेको बताए । त्यसैगरी शिक्षक पनि कम्तीमा प्रविणता प्रमाण पत्र तहसम्म पढेका कैदी मध्येबाट शिक्षकको जिम्मेवारी दिएको प्रमुख पाण्डेले बताए ।

उनले अहिले कारागारमा करिब ३० जनाले पढ्दै आएको र पढाउने शिक्षकलाई कुनै सेवा सुविधा नदिई बार्षिक ६० दिन कैद मिनाहा गरी दिने व्यवस्था मिलाइएको पनि बताए ।

कारागारमा एक जना शिक्षकको व्यवस्था गरिएको भएता पनि त्यहाँ अध्ययन गर्ने कैदी बन्दीले नै आफ्नै खर्चमा करिब २ महिनादेखि अंग्रेजी शिक्षक नियुक्त गरी पढ्दै आएको उनले बताए । घोराही कारागारभित्र करिब ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेकाछन् । र, बाँकी सबै निरक्षर छन् ।