नेपालगन्ज: चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेकोछ । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो बताएका हुन् ।
यसका लागि पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले हालसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए ।
अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा मन्त्री भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताए ।
‘आवश्यक पर्यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भने ।
बैठकमा बोल्दै मन्त्री भट्टराईले विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताए । चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।