बाँके-बर्दिया कर्णालीमा जानुपर्छ: पेशाकर्मी


बाँके-बर्दिया कर्णालीमा जानुपर्छ: पेशाकर्मी

नेपालगन्ज : बाँकेका पेशागत संगठनका प्रतिनिधिले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाँउनु पर्ने बताएका छन् । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानका लागि बनेको समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा पेशागत संगठनका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

विगतदेखि नै बाँके र बर्दियाको लिगेसी कर्णालीसँग रहेको र पाँच नम्बर प्रदेशको पुच्छरको शहरका रुपमा बाँके र बर्दिया बस्नुभन्दा कर्णाली प्रदेशमा गएर एक नम्बरको शहर हुनु उपयुक्त हुने पेशागत संघसंगठनका प्रतिनिधीको जोड थियो ।

नेपालगन्जका मेयर डाक्टर धवलशम्सेर राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने कुरा राजनितिक नभई समृद्धिको एजेण्डा भएको बताए ।

उनले राजनितिक दललाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताउँदै त्यो भन्दा अघि जनतालाई जागरुक गराउने अभियान थालेको जानकारी दिए ।

बाँके र बर्दियाका स्थानीय तहमा छलफल गर्ने, दुवै देशको फाईदाका बुँदाहरु राखेर पालिकाहरुमा ब्यानर राख्ने र त्यहाँ हस्ताक्षर गर्न लगाएर प्रधानमन्त्रीलाई बुझाउने समन्वय समितिले तयारी गरेकोछ ।

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने अभियान नेपालन्जमा पेचिलो बन्दै गएकोछ । प्रदेश पाँचको स्थायी राजधानी बुटवल हुने पक्कापक्की भएसगैं बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने आन्दोलन शुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको संयोजकत्वामा संघर्ष समिति गठन भएपछि बाँके–बर्दियाका राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवि, पत्रकार, कानून व्यवसायी, विद्यार्थी आन्तरिक छलफल र बहसमा जुटेका थिए ।

बाँके–बर्दियामा अहिले कर्णाली प्रदेशमा समाहित हुने विषयलाई लिएर राजनीतिक दलदेखि प्रशासन तहसम्म आन्तरिक बहस छलफल भइरहेको छ । प्रदेश सरकारले राजधानी तोके लगत्तै कडा रुपमा सडकमै उत्रिने संघर्ष समितिका सदस्यहरु बताँउछन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि नै बाँके–बर्दियालाई कर्णालीमा स्वागत गर्न आफू र प्रदेश सरकार तथा समस्त कर्णालीबासीहरु आतुर भएको बताई सकेका छन् ।