नरैनापुरमा डेढ सय वर्षदेखि मेला


नरैनापुरमा डेढ सय वर्षदेखि मेला

नरैनापुर(बाँके): बाँकेको नरैनापुर गाँउपालिकामा डेढ सय वर्षदेखि लाग्दै आएको मेला बुधबारबाट शुरु भएकोछ । हरेक वर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बुधवारदेखि शुरु भएको हो ।

नरैनापुर गाँउपालिका वडा नम्बर–२, को गंगापुरको मियाँपुर्वामा लाग्ने मेलाको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज ‘अथक’ र मेला आयोजक तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरुपमा उद्घाटन गरे ।

मेला उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले डेढ सय वर्षदेखि लाग्दै आएको मेला आफैंमा एउटा इतिहास भएको बताउँदै यो मेला मियाँ परिवारको मात्र नभएर बाँकेबासीको मेला भएको उल्लेख गरे ।

सामाजिक तथा धार्मिक सद्भाव बढाउन मेलाले ठूलो भूमिका खेल्ने भन्दै उनले मेलालाई सफल पार्नुपर्नेमा जोड दिए । १८ वर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक वर्ष वसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।

मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा जादु खेल लगायतका मनोरञ्जनात्मक गतिविधि हुनेछ । यसवर्ष भारत कानपुरका चर्चित कौव्वाल सरिफ परवाज तथा फैजाबादकी नेहानाजको जवाफी कौव्वाली मुख्य आकर्षण रहेको मेला आयोजक समितिका सदस्य एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले जानकारी दिए ।

कौव्वाली सुन्न बाँके तथा छिमेकी भारतका विभिन्न स्थानका सयौं मानिस आउने गर्दछन् । मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह बताउँछन् ।

सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताए । यसैगरी मेलास्थलमा रहेको खलिफा सैयद नूर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ ।

मेलामा दर्शकहरुलाई मनोरञ्जन गराउनका लागि भारतबाट आएका प्रशिद्ध नौटंकी नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठूला ब्यापारिक कम्पनीहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।