नेपालगन्ज: बाँकेको नेपालगन्जमा लागूऔषध प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र र बिधि बिज्ञान प्रयोगशाला बुधबारदेखि सञ्चालनमा आएको छ ।
नेपाल सरकारको नियमित बजेटबाट दुई करोड ८२ लाख ३१ हजार ६ सय ७० को लागतमा उक्त केन्द्रका भौतिक संरचना निर्माण गरिएको हो । नवनिर्मित बिधि बिज्ञान प्रयोगशाला र नेपाल प्रहरी तथा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा लागूऔषध प्रयोगकर्ता लगायतका व्यक्तिका लागि निः शुल्क परामर्श केन्द्र स्थापना गरिएको हो । उपमहानगरपालिकाको १० लाख लागतमा परामर्श केन्द्र निर्माण भएको हो ।
निर्माण गरिएको उक्त केन्द्र गणेशमान चोकमा रहेको पुरानो एसएसपी कार्यालय परिसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेपछि बुधबार देखि नै यी दुवै निकायमा सेवा शुरू गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए ।
उक्त परामर्श केन्द्रबाट लागूऔषधका दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतीको प्रयोग गरी मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको समेत निःशुल्क परामर्श दिइने उनी बताउँछन् ।
प्रहरी अनुसन्धानमा सहयोग पुराउने उद्देश्यले निर्माण गरिएको बिधि विज्ञान प्रयोगशाला (फोरन्सिक ल्याव) को समेत उद्घाटन गरिएको छ । २०७४ साल बैशाखमा ठेक्का भइ निर्माण शुरू भएको पहिलो चरणमा एक तले भवन निर्माण गरिएको छ । उक्त भवन तीनतले बनाईनेछ ।
उक्त भवनको उद्घाटनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालगन्जमा स्थापना भएको प्रहरी बिधि विज्ञान प्रयोगशालामा बैज्ञानिक परीक्षण हुने भएपछि बाँके जिल्ला मात्र नभएर प्रस्तावित लुम्विनी प्रदेशसगैं कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशलाई सुविधा हुने बताए ।
उनले लागुऔषध प्रयोगकर्तालाई सुधार गृहमा राखेर मात्र समस्याको समाधान नहुने बताउदै लागू औषध नियन्त्रणका लागी प्रयोगकर्ता र आमजनतालाई परामर्श दिनुपर्ने धारण राखे ।
‘प्रहरीले कारबाही गरेका र सुधार गृहबाट उपचार गरि फर्केका मध्ये ९५ प्रतिशत फेरि कुलत मै फसेको प्रहरी तथ्यांक रहेकोले अब कारबाही र उपचार मात्र नभएर लागू औषध सेवन गर्नाको कारण पहिचान गरि त्यसलाई निराकरण गर्न सवै लाग्नुपर्ने बताए ।
महानिरीक्षक खनालले पछिल्लो समय लागुऔषध ओसारपसारमा एम्बुलेन्सको समेत प्रयोग गरिएको घटना क्षम्य नहुने भन्दै यस्ता अपराधीलाई कडा भन्दा कडा कानूनी कारबाही गरिनुपर्ने धारणा राखे ।खुला सीमाना भएको देशमा अपराध र अपराधीलाई नियन्त्रण गर्न छुट्टै संयन्त्रको स्थापना गरि दुवैदेशबीच संयुक्तरुपमा अघि बढ्ने धारणा राखे ।
यस्तै कार्यक्रमका सभाध्यक्ष नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले अपराधमुक्त समाज निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध भएको बताए ।
उनले भने– सञ्चालनमा आएको परामर्श र प्रयोगशालाको निरन्तरता र विकासका लागि उपमहानगरपालिका लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै नेपाल प्रहरी र स्थानीय तह मिलेर समाजमा विकृति विसंगति नियन्त्रण गर्न लाग्ने बताए ।
कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले लागुऔषध विरुद्ध आफ्ना भनाई राखेका थिए । भने टेक्निकल सपोर्ट टिमका प्रमुख प्रहरी निरीक्षक ईन्जिनियर दिपक केसीले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।