उपमहानगरमै २१ हजार ल्याप्चे


उपमहानगरमै २१ हजार ल्याप्चे

नेपालगन्ज : बाँकेका आठ वटा स्थानीय तह मध्ये चार वटा साक्षर घोषणा भैसकेका छन् । कोहलपुर, खजुरा, जानकी र राप्तीसोनारी गाउँपालिका साक्षर घोषणा भैसकेका छन् । साक्षर घोषणा गर्ने स्थानीय तहलाई सरकारले पुरस्कृत समेत गर्दै आएको छ ।

जिल्ला समन्वय समिति बाँकेले जिल्लामै सबै भन्दा पहिला साक्षर घोषणा गरेको कोहलपुर नगरपालिकाले ५० लाख, खजुरा गाउँपालिकाले २५ लाख, जानकी गाउँपालिकाले १२ लाख २५ हजार र राप्ती सोनारी गाउँपालिकालाई ६ लाख २५ हजार प्रदान गरिसकेको छ । तर, नेपालगन्ज उपमहानगरपालिका अझै साक्षर घोषणा हुन सकेको छैन् । यहाँ रहेका २३ वटा वडामध्ये अहिलेसम्म तीन वटा वडा मात्रै साक्षर घोषणा भएका छन् । यद्यपि, तीनमा पनि अझै केही निरक्षर रहेको तथ्य फेला परेको छ ।

नेपालगन्जको वडा नं. १, १२ र १८ साक्षर घोषणा भैसकेका छन् । नेपालगन्जलाई पनि चालु आर्थिक वर्ष नै साक्षर स्थानीय तह घोषणाका लागि तयारी अघि बढाएको नगर शिक्षा अधिकारी गोरखबहादुर थापा बताउँछन् । तर, उपमहानगरपालिका क्षेत्रमै अहिलेपनि १५ वर्षभन्दा माथि उमेर समूहका २० हजार ९ सय ४४ निरक्षर छन् ।

प्रावधानअनुसार ९५ प्रतिशत जनसंख्यालाई साक्षर भए वडालाई साक्षर घोषणा गर्न सकिन्छ । उपमहानगरपालिकाको तथ्यांक अनुसार, नगरमा १५ वर्ष भन्दा माथि उमेर समूहका ८ हजार ७ सय ८८ पुरूष र १२ हजार १ सय ७९ महिला निरक्षर छन् ।

सरकारले साक्षरता अभियानका लागिब बाँकेमा मात्रै करोडौं बढी बजेट खर्च गरिसकेको छ । अहिले यो आर्थिक वर्षमा मात्रै २० करोड बाँकेमा विनियोजन छ । घोषणा भएका पालिकाले समेत साक्षरताका लागि सबै सूचक पुरा गरेका छैनन् ।

सरकारले २०७७ असार मसान्तभित्र देशभरका ७० जिल्लालाई साक्षर नेपाल वर्ष घोषणा गर्ने लक्ष्य राखेको छ । गत भदौसम्म ५१ जिल्ला साक्षर भैसकेका छन् । अब साक्षर घोषणाको तयारीमा बाँके पनि देखिएको छ ।