नेपालगन्ज: बाँकेमा रहेको १७ वटा नीजि विद्यालयहरू प्याब्सनमा आबद्ध भएका छन् ।
यसअघि एनप्याब्सनमा रहेका यी विद्यालयहरू बिहीबारदेखि एनप्याब्सन छोडेर प्याब्सनमा आबद्ध भएको प्याब्सनका बाँके सचिव रोशन श्रेष्ठ बताउँछन् ।
अहिले बनिरहेको शिक्षा नियमावली, नीति तथा नियमका बारे आयोजित अभियमुखीकरण बहस कार्यक्रममा यी विद्यालयहरू प्याब्सनमा आबद्ध भएका हुन् ।
यसरी आबद्ध विद्यालयलाई प्याब्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनियालगायतले स्वागत गरेको सचिव श्रेष्ठले बताए ।
उनकाअनुसार सगरमाथा, सिद्धार्थ विद्या सदन, सनलाइट इङलिस् स्कुल, न्यू भिजन, निर्मलज्योति, कोहलपुर सिटी, मिसन पब्लिक, ज्ञानकुञ्ज, गुरूकुल एजुकेशन लगायतका १७ वटा एनप्याब्सन आबद्ध विद्यालय प्याब्सनमा समाहित भएका हुन् ।
एनप्याब्सनले बुधबार मात्रै नेपालगन्ज र कोहलपुर क्षेत्रका गरि तीनवटा नीजि विद्यालयलाई कारबाही गरेको घोषणा गरेको थियो । यसैको प्रतिफल बिहीबार १७ वटा विद्यालयले एनप्याब्सन छोडेका छन् ।