नाबालकसहित न्यायको खोजीमा नेपालगन्जका अड्डा अदालत धाइरहेकी रामरानी त्रिपाठी । तस्विर: विजय मल्ल /सेतोखरी
नेपालगन्ज : बाँकेको बनकटी निवासी रामरानी त्रिपाठी न्यायको खोजीमा नेपालगन्जका अड्डा अदालत धाइरहेकी छन् । डुडुवा गाँउपालिका वडा नम्बर ३, बनकट्टीका अंकेत त्रिपाठीसंग गत वैशाखमा प्रेम विवाह गरेकी रामरानीका माईतीपक्षले आफ्नो छोरी वेपत्ता पारेको भन्दै बाँके अदालतमा मुद्दा दायर गरेपछि बाँके अदालतले उनका श्रीमान अंकेतलाई थुनामा राख्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि विगत एक महिनादेखि अंकेत थुनामा छन् । विना कारण श्रीमानलाई थुनामा राखेको भन्दै रामरानीले विहिबार आफू अन्यायमा परेको सेतोखरीसमक्ष बताईन् ।
उनले भनिन्–‘मैले प्रेम विवाह गरेर आएकी हुँ, मेरो र मेरोश्रीमानको कुनै गल्ती छैन । वहाँलाई तत्काल थुनामुक्त गरियोस् ।’ नेपालगन्ज स्थित वकिल पत्रकार गुहार्दैै उनले थुनामा रहेका श्रीमान अंकेतलाई विना शर्त थुना मुक्त गरिए मात्र आफूमाथि न्याय हुने बताइएकी छन् ।
‘माईतीपक्षले आफूसंग कुनै सल्लाह नगरि कुरै नबुझि आफ्नो मनोमानी गर्दै अदालतमा मुद्दा दायर गरेको र अदालतले पनि उनीहरुकै कुरा सुनेर हामीमाथि अन्याय गरेको छ ।’ उनले भनिन् –‘श्रीमान विना कारण थुनामा रहदाँ काखे बच्चा सहित आफनो विजोग भएकोछ ।’
माईती पक्षले भेटाए मार्ने धम्की दिएका कारण आफू नाबालक बच्चा सहित बनकट्टि स्थित घर छोडेर भारतमा लुकेर बस्नु परेको रामरानीले बताएकी छन् ।
अहिले ससुरा रमेशकुमार त्रिपाठी लगायतका परिवारका सदस्यको संरक्षणमा न्यायको खोजी गर्न भारतबाट नेपालगन्जमा आएको र यहाँपनि त्रसित भई बस्नु परेको उनले बताईन् ।
अंकेतलाई थुनामा राख्नु अघि अंकेतका बुवा र दाईलाई प्रहरीले नियन्त्रणमा लिइ थुनमा राखेको थियो । अंकेतलाई पक्राउ गरेलगत्तै एक/एक लाख रुपैयाँ धरौटी बुझाएर आफूहरुलाई छोडिएको अंकेतका बुवा रमेश कुमार त्रिपाठीले बताए ।
जानकी गाँउपालिका गुरुवागाँउ माईत भएकी रामरानीले भनिन्–‘मैले आफूखुसी प्रेम विवाह गरेकी हुँ, मेरो माईतीपक्षले कुरै नबुझी मुद्दा दिएर श्रीमानलाई हिरासतमा पु¥याए, बुवा रामअचल तिवारीले भेटाए मार्ने धम्कि दिनुभएकोछ ।’ आफू र नाबालक बच्चाको ज्यान बचाउन लुकीरहेको उनले बताइन् ।