नेपालगन्ज:सांघातिक आक्रमणबाट गम्भीर घाईते भएका रोशन महतराका आफन्तजनले दोषीलाई कडा कारबाहीको माग गरेकाछन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेका जिल्ला सदस्य समेत रहेका रोशन महतराका आफन्तले शुक्रबार पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।
रोशनकी दिदी राधा महतराले भाईमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिहरुको फोटोसहित किटानी जाहेरी दिएपनि दोषीले उन्मुक्ति पाएको बताएकी छन् । उनले भनिन्–‘निर्दोष भाईलाई विनाकारण सांघातिक आक्रमण गर्ने गुण्डालाई कुनैपनि हालतमा नछाड्ने बताईन् ।’
माघ २० गते नेपालगन्जस्थित सेतुविक चोकमा रहेको बागेश्वरी चलचित्र परिसरमै रोशनलाई खुकुरी, रड, नकको प्रयोग गरि सांघातिक आक्रमण भएको थियो । लगत्तै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी समक्ष किटानी जाहेरी दिदाँसम्म फरार रहेका दोषीलाई प्रहरीले पक्राउ नगरेको राधाले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा बोल्दै रोशनका भेनाजु रामबहादुर खत्रीले भने–‘सालामाथि भएको आक्रमणको सिसि फुटेज समेत प्रमाणकारुपमा छ । तर, पनि दोषीलाई पक्राउ गर्नुको साटो उनीहरुले प्रयोग गरेको गाडी र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिनसकेको छैन । हामीले न्याय खोजेका हौं, कानूनी उपचार मागेका हौं ।’
उनले भने –‘साला रोशनमाथि सांघातिक आक्रमण गर्ने अनुराग शाह, सुरेस बर्मा, सन्देश सिंह ठकुरी र स्याण्डी भनिने सन्दिप विष्ट गुण्डाहरुलाई कारबाही हुनुपर्छ ।’ उनले गाडी थपे–‘यसअघि पनि २०७५ भदौ ३१ गते उनीहरुले नै सालामाथि आक्रमण गरे, डेढ वर्षको अन्तरालमा फेरी पनि आक्रमण भयो हामीले शान्ति सुरक्षा चाहियो ।’
रोशनका आफन्त सुरज मल्लले भने–‘कानून भन्दा अगाडी हामी जादैनौं र कानूनविपरित जानेलाई कारबाही नगरिए हामी असुरक्षित छौं । उनीहरुको पृष्ठभूमी अपराधिक छ ।’ उनले थपे –‘यो रोशनको मात्र विषय होइन समग्र जिल्लाको शान्तिसुरक्षाको विषय हो । दोषीलाई उन्मुक्ति नमिलोस् ।’
‘मैले केही पनि गरेको छैन, पहिला साउदीबाट आएको ४ महिनामै ममाथि आक्रमण गरे, अहिले फेरी आक्रमण भयो’ रोशनले पत्रकार सम्मेलनमा भने–‘म असुरक्षित छु । पहिले पनि उनीहरु धरौटीमा छुटे फेरी छुट्छन् । ममाथि आक्रमण गर्छन् । दोषीलाई कारबाही होस् ।’
पत्रकार सम्मेलनमा उपस्थित राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसीले घट्नाको भत्र्सना गर्दै भने– ‘अपराधिक घटनालाई राजनीतिसंग जोडिरहेकाछन् । यो नितान्त गुण्डागर्दी हो, राजनीति होईन । हामी चुप लागेर बस्दैनौं ।’
अध्यक्ष केसीले घटनामा संलग्न फरार दोषीहरुलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न बाँके प्रहरीसमक्ष माग गरे । उनले भने–‘भारतबाट गुण्डा झिकाएर यता अपराध गर्ने गराउने सवैलाई कानूनी कारबाही हुनुपर्छ । यस्ता गतिविधिले जिल्लाकै शान्तिसुरक्षामाथि प्रश्न उठेकोछ ।’
सांघातिक हमला हुदाँ महतरा गम्भीर घाईते भएका थिए । प्रहरीले घटनामा संलग्न भनिएका अनुराग शाह र सुरेस बर्मालाई नियन्त्रणमा लिइसकेकोछ । भने फरार रहेका सन्देश सिंह ठकुरी र स्याण्डी भनिने सन्दिप विष्टको खोजी भइरहेको जनाएकोछ ।