कारागारको निरीक्षण हुँदै


कारागारको निरीक्षण हुँदै

नेपालगन्ज : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बाँके कारागारको पनि निरीक्षण गर्ने भएको छ । शुक्रबार बसेको समितिको बैठकले सात वटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेसँगै बाँके कारागारको पनि निरीक्षण हुने भएको हो ।

कारागारभित्र बस्ने बन्दीहरुको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको समिति सभापति कृष्णभक्त पोखरेल बताउँछन् । कारगारभित्र बस्ने बन्दीहरुलाई आवास नपुगेको, उनीहरुको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरुले कानुनी सहायतासमेत भनेको समयमा नपाएको गुनासा आएका छन् उनले भने ‘वास्तविकता के हो, बुझ्न हामीले कारागारको निरीक्षण गर्ने निर्णय गरेका छौं ।’

नेपालगन्ज कारागारमा क्षमताभन्दा झन्डै तेब्बर पुरूष कैदीबन्दी र थुनुवा राखिएका छन् । उक्त भवन ७५ वर्ष पूरानो हो । अहिले जीर्ण बन्दै गएको छ ।

अहिले कारागारमा कैदीबन्दी र थुनुवा गरी ६ सय ८० जना छन् । जुन क्षमताभन्दा दोब्बर बढी हो । जहाँ ५२ भारतीय र दुई बंगलादेशीसहित ५४ जना विदेशी नागरिक पनि छन् । तीन सयको हाराहारीमा क्षमता भए पनि यो कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी छन् ।