मुद्दा फच्छ्र्यौटमा अख्तियार उदासिन

३४७ उजुरी अनुसन्धानमा, अनुसन्धानकर्मी अभाव: गैरे


मुद्दा फच्छ्र्यौटमा अख्तियार उदासिन

नेपालगन्ज: मुद्दा फच्छ्र्यौटमा अख्तियार उदासिन देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मुद्दा फच्छ्र्यौटमा उदासिनता देखाएको हो ।

बाँकेका स्थानीय तहका विरूद्ध अख्तियारमा दर्जनौं उजुरी परेपनि नेपालगन्जमा रहेको अख्तियारको कार्यालय र यहाँका कर्मचारी ती उजुरीको अनुसन्धानमा समेत उदासिन छन् ।

संघीयता पछि स्थानीय तहबाट भएका कामका सम्बन्धमा अख्तियारमा उजुरीको चाङ् नै लागेको छ । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ५८ वटा उजुरी परेकाछन् ।

नेपालगन्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने गर्दछ । यी जिल्लाबाट ६ महिनामा ४ सय ५८ वटा उजुरी परेकाछन् ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार तीन जिल्लामध्ये बाँकेमा सवैभन्दा बढी उजुरी परेकाछन् ।

बाँकेमा ३ सय १० वटा उजुरी परेकाछन् । दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको कार्यालयले जनाएको छ । जसमध्ये बाँकेको दाङ भन्दा १ सय ६८ र बर्दिया भन्दा २ सय ४ वटा उजुरी बढि हो ।

ती उजुरीमध्ये बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा फच्छ्यौट भएको छ । ४ सय ५८ मध्येमा एक सय ११ वटा फच्छ्र्यौट हुदाँ ३ सय ४७ वटा उजुरीमा अनुसन्धान भइरहेको आयोगका प्रमुख गैरे बताउँछन् ।

यस्तै सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमध्येमा सबैभन्दा बढी संघीय अर्थात स्थानीय तहका छन् । संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालय प्रमुख गैरेले बाताए ।

यसैबीच अख्तियारको नेपालगन्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा उजुरी अनुसन्धानमा असर परेको आयोगका प्रमुख गैरे बताउँछन् ।
उनका अनुसार आयोगमा अहिले २८ जनाको दरबन्दी छ, जसमध्ये ३ जनामात्रै अनुसन्धान अधिकृत कार्यरतछन् ।

आयोगमा पछिल्लो ७ महिनादेखि प्राविधिक जनशक्ति थिएनन् । भर्खरै आएका हुन् । यो सगैं नेपालगन्जमा ४० जनाको दरबन्दी पु¥याउने तयारी भइरहेको आयोगले जनाएकोछ ।

पटक–पटक दक्ष जनशक्तिको अभावका कारण अनुसन्धान कार्य प्रभावकारि रुपमा गर्न नसकेको आलोचना खेपिरहेका बेला भर्खरै आएका जनशक्तिले कमीपुरा गर्नेछन्।

तर, अख्तियारलाई संविधान, कानूनबमोजिम सशक्त नबनाउनु, आयुक्तहरू नियुक्त गर्दा राजनीति प्रभावित हुनु तथा अख्तियारको दायराभन्दा बाहिर संस्थाहरु रहनुलगायतका कारणले अख्तियारले सक्षमतापूर्वक काम गर्न नसकेको विज्ञहरुको बुझाइ छ ।

नेपालगन्जमा अख्तियारको २९ औं स्थापना दिवस मनाउने क्रममा पत्रकारसंग भेटघाट गरिएको थियो । अख्तियारले स्थापना दिवसको अवसरमा अन्तरक्रिया, छलफल र जनचेतनामुलक सडकनाटक समेत प्रदर्शन गर्ने कार्यतालिका बनाएकोछ।