नेपालगन्ज : नेपाल प्रहरीको २७ औं प्रहरी महानिरिक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त हुने भएका छन् । मंगलबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गर्ने सहमति गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको क्याबिनेटले ज्ञावालीको नाममा सहमती गरेको र त्यसका लागि गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया पु¥याएर ल्याउन भनिएको थियो ।
मंगलबारै दिउँसो बस्ने मन्त्रीपरिषद् बैठकले आधिकारीक रुपमा उनलाई प्रहरी महानिरिक्षक पदमा नियुक्त गरेको छ । निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण मंगलबार घर फर्कनु भन्दा केही घण्टा अगाडि मात्र नेपाल प्रहरीले २७ औं आईजीपीमा ज्ञावलीले पाएका हुन् ।
वर्तमान आईजीपी खनाल लगायत ३ एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाई गरिएको छ ।
प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो । प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्ने छन् ।