युनियन अधिबेशन आज


युनियन अधिबेशन आज

नेपालगन्जः नेपाल प्रेस युनियन बाँकेको ११ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएकोछ ।  आज मध्यान्ह साढे १२ बजे जिल्ला समन्वय समितिको सभा हलमा युनियनको अधिबेशन गर्ने तयारी भएकोछ ।

दुई चरणमा हुने कार्यक्रममा पहिलो चरणमा उद्घाटन र दोस्रो चरणमा बन्द शत्र चल्नेछ । कार्यक्रममा विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिने युनियनले जनाएकोछ ।

नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको सुशील कोइराला रास्ट्रीय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तारानाथ दाहाल, प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ रास्ट्रीय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झा र जगन्नाथ गौडेल पत्रकारिता पुरस्कार पत्रकार दीपा आलेलाई प्रदान गर्ने भएकोछ ।

युनियन बाँकेको पुरस्कार छनोट समितिले गरेको सिफारिसका आधारमा मङ्गलबार बसेको युनियनको कार्य समिति बैठकले सो निर्णय गरेको हो । युनियन बाँकेको कार्यसमिती बैठकले वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको थियोे ।

बाँकेको जिल्ला अधिवेशनका लागि केन्द्रिय समितिले केन्द्रिय सदस्य माधव धिताललाई प्रतिनिधीका रुपमा खटाईसकेको छ । भने केन्द्रीय उपमहासचिव प्रेम केसी र केन्द्रिय सदस्य जयसिंह केसी जिल्लामै छन् ।

बाँके युनियन शाखाको अधिवेशनका लागि केन्द्रिय अध्यक्ष बद्रि सिग्देल आजै विहान नेपालगन्ज आईपुग्ने कार्यक्रम रहेको छ । भने केही केन्द्रिय पदाधिकारी तथा शाखा सदस्यहरु आज दिउँसो सम्म नेपालगन्ज आउने यूनियनले बताएको छ ।

जिल्ला शाखाको अधिबेशन सकिएलगत्तै आगामी चैत्रमा युनियनको केन्द्रिय महाअधिबेशन हुनेछ । युनियनको केन्द्रिय कार्यसमितले नेपालगन्जमै केन्द्रिय महाधिबेशन तोकेपछि बाँके युनियन उत्साहित भएको प्रेस युनियन बाँकेका सचिव अर्जुन ओली बताउँछन् । अहिले अधिबेशनका लागि आन्तरिक तयारी भईरहेकोछ ।

सचिव ओलीले भने – युनियनको अधिबेशनलई लिएर युनियन अबाद्ध सञ्चारकर्मीहरु यतिबेला साथीभाई भेटघाट तथा घरदैलोमै जुटेकाछन् ।’
१५ सदस्यीय कार्यसमिति रहने युनियनको तीन वर्षे कार्यकालका लागि आज अधिवेशन हुदैछ । जिल्ला अधिबेशन सर्वसम्मत रुपमा गठन गरिनुपर्ने यूनियन आबद्ध पत्रकारहरुको माग रहदै आएको छ ।

यद्यपी बाँकेको युनियन भित्र अध्यक्षपदका लागि नविन गिरी, अर्जुन ओली, चेतकान्त भट्टराई र कमल खत्रीको यसअघि नै चर्चा चुलिएको छ ।
त्यसैगरी अध्यक्षपछिको शक्तिशाली सचिव पदमा पाँच जनाको चर्चा छ । जसमा युनियन कार्यसमितिकै सदस्य विजय मल्ल, प्रियास्मृति ढकाल, निर्मल आचार्य, भिष्म लोध र समीरमान श्रेष्ठको नाम चर्चामा छ ।

अध्यक्ष र सचिव पदमा प्रत्यासीका रुपमा चर्चामा रहेका मध्ये अर्जुन ओली र विजय मल्ल हाल कार्यसमिति सदस्य हुन् । ओली युनियन बाँकेको सचिव र मल्ल कार्यसमिति सदस्य हुन् ।

यस्तै अधिबेशनलाई लिएर अन्य पदका लागि भने खासै चर्चा चुलिएको छैन । यद्यपी वर्तमान कार्यसमितिका केही पदाधिकारी पुनः दोहोरिन चाहेको बुझिएकोछ । यसअघि हुने भनिएको अधिवेशन विविध कारणबस हुन नसकेको युनियन बताँउछ ।