नेपालगन्ज : तत्कालिन अवस्थामा मओवादीले चलाएको शसस्त्र द्धन्द्धमा बाँकेबाट वेपत्ता भएका एक सय १० जना नागरिक अझै सम्पर्कमा छैनन् । बर्दियाका दुईसय ६५ जना पनि अझै बेखबर नै छन् । दाङमा चार सय १८ जना अहिलेपनि भेटिएका छैनन् ।
राज्यका तर्फबाट बाँकेमा ९४ जना नागरिक मारिएको अनौपचारिक सेवा क्षेत्र केन्द्र इन्सेकको तथ्याकं छ । राज्यबाट ५७ जनानागरिकलार्य वेपत्ता पारिएको इन्सेकका प्रदेश पाँच संयोजक भोला महत बताउँछन् ।
उनकाअनुसार गैरराज्यबाट एक सय ८८ जनाका हत्या भएको छ । उनले भने ‘गैरराज्यबाट चार जना वेपत्ता पारिएको छ ।’ एक सरकारी तथ्यांकअनुसार राज्यबाट मारिएका सहिद र बेपत्ता पारिएकाको कुल संख्या १२ हजार तीन सय १२ छ । जसमध्ये ११ हजार दुई सय २० जनाको ज्यान गइसकेको छ । एक हजार ९४ जना अहिलेसम्म बेपत्ताको सूचीमा छन् ।
सहिदहरूको नाम, बुबा र आमा, जन्ममिति, जन्मस्थान, सहादत मिति र सहादत स्थानसहितको विवरण संकलन गरिएको छ । ११ हजार २ सय २० जनाको सूची छ ।
युद्धका क्रममा बेपत्ता पारिएकाहरूको नाम, बुबारआमाको नाम, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना, पक्राउ मिति, पक्राउ स्थान र बेपत्ता योद्धाका परिवारको विवरण छ । कतिपय सहिद र बेपत्ता पारिएकाहरूको विवरण अपूर्ण छ । शसस्त्र द्वन्द्वका बेला १७ हजार बढीको ज्यान गएकोमा त्यसबेला लोकतान्त्रिक भनिएको राज्यले ११ हजार मानिसको हत्या गरेको प्रारम्भिक तथ्यांकमा देखिएको छ ।
यसमध्ये कैयौं लडाई वा दोहोरो भिडन्तामा मारिएका भएता पनि निहत्था नागरिकलाई गिरफ्तार गरेर मार्ने र अझ कतिपय माओवादीमै नलागेका व्यक्तिलाई समेत माओवादीको आरोपमा चरम यातना दिएन मार्ने काम राज्यपक्षबाट पनि भएको उक्त तथ्याकंसहितको प्रतिवेदनमा उल्लेख छ ।
भाषिक आधारमा ६९ दशमलव ६७ प्रतिशत जीवन गुमाउने नेपाली भाषी छन । नेपाली भाषाको बाहुल्य रहेकाले उनीहरूको संख्या धेरै देखिएको छ । दोस्रोमा थारू भाषी आउँछन् । युद्धकै कारण देशभरमा आठ सय ३३ जना थारूले जीवन गुमाएका छन् । त्यसपछि क्रमशः मगर, मैथिली र तामाङ भाषी आउँछन् ।
बेपत्ता हुने सूचीमा पनि नेपाली भाषीपछि थारू नै आउने इन्सेकको प्रतिवेदनले पनि देखाएको छ । मुलुकभर द्धन्द्व अवधिभर एक हजार ६ जना बेपत्ता भएका छन् । जसमध्ये नेपाली भाषी ६ सय ४५ जना छन् । थारू भाषी २ सय ४१ जना वेपत्ताको सूचीमा छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले भने यो भन्दा बेपत्ता हुनेको संख्या यसको दोब्बरभन्दा बढी रहेको निष्कर्ष निकालेको छ । उसकाअनुसार दुई हजार पाँच सय छ जना रहेका छन् । तर, आयोगले त्यो सूचीलाई वर्गीकरण गरिसकेको छैन । वेपत्ता भएका नागरिकको खोजी गर्न गठित वेपत्ता आयोग समेत आफै कताकता बेपत्ता भएको छ । उसले प्रभावकारी रूपमा काम गर्न नसकेको अधिकारकर्मीहरू नै बताउँछन् ।