बालविवाह रोक्न मुद्दती तथा बीमा योजना


बालविवाह रोक्न मुद्दती तथा बीमा योजना

नेपालगन्ज : उमेर नपुगी भएको विवाह स्वतः बदर हुने कानूनी प्रावधान छ । आरोप प्रमाणित भए बिहे गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था पनि छ ।

बाँकेको जानकी लगायतका केही गाउँपालिकामा बालविवाह गर्न पाउनुपर्ने आवाज उठिरहेका बेला नेपालगन्ज उपमहानगरपालिका–२१ वडामा भने एक सातामा सातवटा बालविवाह रद्ध भएका छन् ।

बाँकेका दुई स्थानीय तहले बालविवाह रोक्न मुद्दती खाता र बीमा योजना ल्याएका छन् । २० वर्ष उमेर भएपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्थालाई मूर्त रूप दिन डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था गरेको हो ।

यसैअनुरूप नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले यस्तो योजना अघि सारेका हुन् । डुडुवाले योजना नै बनाएर काम शुरू गरिसकेको छ । तर, उपमहानगरपालिका तयारीमा रहेको बताउँदै आएको छ । एक तथ्यांकअनुसार डुडुवा गाउँपालिकामा पुरुष बालविवाह ८३ दशमलव १६ प्रतिशत र महिला ५० दशमलव २२ प्रतिशत छ । कोषमा २९ लाख रुपैयाँ राखिएको छ ।

पाँच हजार रुपैयाँ गाउँपालिकाको र थप पाँच हजार अभिभावकको गरी १० हजारको मुद्दती खाता खोलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा बताउँछन् । गाउँपालिकाले कोष सञ्चालनका लागि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ । कार्यविधिमा अभिभावक वा कन्या स्वयंले २० वर्ष नपुग्दै विवाह गरे–गराएमा कोष निष्क्रिय हुने र रकम भुक्तानी नहुने व्यवस्था छ ।

नेपालगन्जमा १९ वर्षमुनिका महिला बालविवाह ८३ दशमलव १६ प्रतिशत र पुरुष बालविवाह ५२ दशमलव ६३ प्रतिशत रहेको एक तथ्याकंले देखाएको छ । उपमहानगरपालिकाले छोरी बिमासम्बन्धी कार्यविधि बनाइरहेको छ । यसका लागि पाँच लाख विनियोजन गरेको छ ।

उपमहानगरले २१ नम्बर वडाबाट योजना लागू गर्ने छ । जिल्लामै सबैभन्दा बढी बाल विवाह राप्ती सोनारीमा हुने गरेको छ । राप्ती सोनारीमा महिला बालविवाह ८३ दशमलव १६ प्रतिशत छ । पुरुष बालविवाह भने ७२ दशमलव ६३ प्रतिशत छ ।

कानुन व्यवसायी विकास आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन, ०७४ मा ‘२० वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्था छ । कानूनको अटेर गरी गरिएको विवाहले कानूनी मान्यता पाउन सक्दैन उनले भने ‘यसैले कानूनको परिधिमा रहरै विवाह गरिनुपर्छ ।’ बाँके प्रहरीका एसपी वीरबहादुर ओली कानून उल्लंघन गरी बिहे गर्ने र गराउनेलाई कारबाही गरिने छ । कानून छलेर उमेर नपुग्दै भारतमै लगेर बिहे भइरहेको छ । उनले भने, ‘यसरी बिहे गराउनेलाई कारबाही हुन्छ ।’